images
images

पाकिस्तान र काश्मिर विरोधी गतिविधि बढ्दै

नयाँ दिल्ली स् भारतको पुलवामामा गत बिहीवार भएको आतंकवादी आक्रमणको भारतभर विरोध भइरहेको छ। उक्त आक्रमणमा ४२ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो। यस्तै हिजो पुलवामामा नै भएको सुरक्षा कारवाहीमा चार सुरक्षाकर्मी र एक आम नागरिकको मृत्यु भएको थियो। सो कारवाहीमा दुई आतंकवादीको मृत्यु भएको सुरक्षा अधिकारीहरुले बताएका थिए।

भारतले पलुवामामा आक्रमण पाकिस्तानी सशस्त्र समूह जैश ए मोहम्मदको नेतृत्वमा भएको भन्दै भारतले पाकिस्तानले कडा मूल्य चुकाउनुपर्ने बताएको थियो। तर पाकिस्तानले भने भारतले लगाएको आरोप अस्विकार गर्दै प्रमाण दिए मिलेर अनुसन्धान गर्ने बताएको थियो।

यस्तै सो आक्रमण सफल बनाउनका लागि भारतकै जम्मू काश्मिरका केही युवाहरु लागेको भारतको सुरक्षा निकायले निष्कर्ष निकालेको छ। आक्रमणमा प्रयोग भएका बिस्फोटक पदार्थहरु कश्मिरी युवाकै सहायतामा आतंकवादीहरु सम्म पुर्‍याइएको सुरक्षा एजेन्सीको दावी छ। त्यसैले उक्त आक्रमणको समर्थन गरेको भन्दै केही कश्मिरी युवाविरुद्ध मुद्दा दायर गरिएको छ।

यसैबीच भारतभर पाकिस्तान र काश्मिरका नागरिकलाई दुर्व्यवहार र आक्रमण गरिएको घटनाहरु बाहिर आइरहेको छ। भारतको राजस्थानको बिकनेरमा पाकिस्तानी नागरिकलाई जिल्ला छोडेर जान सार्वजनिक सूचना नै जारी गरिएको छ। बिकनेरको जिल्ला मजिष्ट्रेटले जारी गरेको सूचनामा ४८ घण्टाभित्र जिल्ला छोडेर जान भनिएको छ। यस्तै, बिकनेरभित्र कसैले पनि पाकिस्तानीलाई शरण नदिन समेत निर्देशन दिइएको छ।