images
images

श्रीस्वस्थानी व्रतकथा शुक्ल पूर्णिमाका दिन पूजाआजा गरी सम्पन्न

काठमाडौं । हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आज माघ शुक्ल पूर्णिमाका दिन पूजाआजा गरी सम्पन्न गरिँदैछ । व्रत बस्ने प्रत्येक महिलाले महिनाभर स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकांक्षा पूरा हुने विश्वास छ ।सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उनले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराइ गरीब तथा दुःखीहरूको उद्धार गराएको विश्वासमा परम्परागत रूपमा यो कथा प्रचलित हुँदै आएको मानिन्छ ।

आज व्रत समाप्तिका दिन श्रीस्वस्थानीको पूजा गरी चढाइने १०८ रोटी, १०८ पान, १०८ कुड्का सुपारीलगायतका सामग्रीमध्ये आठ–आठवटा रोटी, सुपारी र पानलगायतका सामग्री आफ्ना श्रीमान्लाई, श्रीमान् नभए छोरालाई, छोरा पनि नभए मितछोरालाई दिने र मितछोरा पनि नभए मेरो इच्छा पूरा होस् भनी खोलामा लगेर बगाइदिने र बाँकी व्रतालु स्वयंले खाने प्रचलन छ ।

यस अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएको स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने धार्मिक विश्वास छ । त्यसैले बिहानैदेखि यी स्थानहरुमा भक्तजनको घुइँचो लागेको छ ।