images
images

तरकारी बिक्री नभएपछि बेनिघाटका किसानहरुले तरकारीबारीमा ट्याक्टर लगाए

धादिङ । बजार मूल्यभन्दा १५ गुणा कममा पनि तरकारी बिक्री नभएपछि धादिङ, बेनिघाटका किसानहरुले तरकारीबारीमा ट्याक्टर लगाएर नस्ट गरेका छन् । धादिङ, बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर–५, विशालटारका किसानहरुले तरकारीबारीमा ट्याक्टर लगाएका हुन् ।

बजार मूल्यभन्दा १५ गुणा कममा दिँदा पनि तरकारी बिक्री नभएपछि किसानहरुले खेतमा लगाएको बन्दाकोभी, मुलालगायतका तरकारी नस्ट गरेका हुन् । उपभोक्ताले बजारमा प्रतिकेजी १५ रुपैयाँ बढीमा किनिरहेको मूला र ३० रुपैयाँ प्रतिकेजीमा किनिरहेको बन्दालाई बिचौलिया व्यापारीले प्रतिकेजी ३ रुपैयाँमा पनि नलगेपछि किसानहरुले तरकारी नस्ट गरेका हुन् ।

तरकारी टिप्ने र ढुवानी भाडासमेत नउठ्ने भएपछि अर्को खेती गर्नका लागि किसानले तरकारी नस्ट गर्न थालेका हुन् । धादिङ, विशालटारमामात्र १२ घरधुरीले एकैपटक ट्याक्टर लगाएर तरकारी खेती नस्ट गरेका छन् । यहाँका किसानले २२ रोपनी क्षेत्रफलमा बन्दाकोभीकोमात्र खेती गरेका छन् ।

बन्दासँगै मूला पनि बिक्री भएको छैन । बिक्री नभएको तरकारी काट्नसमेत ज्याला दिनुपरेको स्थानीय किसानको गुनासो छ । विशालटारका केही किसानहरु भने तरकारीको भाउ आउँछ भनेर कुरिरहेका छन् । प्रायः हिउँदे तरकारीमा नोक्सानी व्यहोरेका किसानहरुले बर्खे तरकारीबाट भने आशा गरेका छन् । यसअघि, मूल्य नपाएकै कारण चितवनका किसानले पनि आफ्नै खेतको तरकारी नस्ट गरेका थिए । इमेजखबर