काठमाडौं । पूर्व राष्ट्रपति डा रामवरण यादवले संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन राजनीतिक दलसँग आग्रह गरेका छन् ।
नाइटिङ्गेल अन्तर्राष्ट्रिय माध्यमिक विद्यालयको २६औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति डा यादवले अब जनताको एक मात्र चाहना विकास र समृद्धि भएको हुँदा त्यसतर्फ केन्द्रित हुन सरकार र राजनीतिक दलका नेतालाई आग्रह गरे ।
“जनताको लामो सङ्घर्षबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएको छ, संविधान पनि जारी भएको छ, अब विकास नगर्नका लागि दलहरुले कुनै बाहना बनाउन पाउँदैनन्, व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर देशको विकासमा लाग्नुको विकल्प छैन”, उनले भने ।
मुलुकमा व्याप्त भ्रष्टाचार, महँगी, बेरोजगारी, महिला हिंसा, बलात्कारसँगै सबै प्रकृतिका विभेद र उत्पीडनको अन्त्य गरी सुशासन कायम गर्दै देशमा शान्ति र समृद्धि कायम गर्नुपर्ने पूर्व राष्ट्रपति यादवको भनाइ छ ।
निजी विद्यालयभन्दा सरकारी विद्यालयको स्तर झन्झन् खस्कँदै गएको सन्दर्भमा पूर्व राष्ट्रपति यादवले सरकारले व्यावहारिक शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए । उनले भने, “तपाइँ अभिभावकले मेरो छोराछोरीले यही नै विषय अध्ययन गर्नुपर्छ भनेर बल नगर्नुहोस्, उसको इच्छा के छ त्यहीअनुसार अध्ययन गर्न दिनुहोस्, उसले त्यसैमा प्रगति गर्न सक्छ ।”