दमौली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषिलाई सम्मानित पेशा बनाउनुपर्नेमा जोड दिएका छन् ।
ब्यास नगरपालिका–६ सिसाघाटस्थित श्याम्घा साना किसान सहकारीको चौथो साधारणसभाको आज उद्घाटन गर्दै नेता पौडेलले नेपालका अधिकांश किसान कृषिमा निर्भर भए पनि यो पेशा अपहेलित हुन पुगेको बताए । उनले भने, “नेपाललाई किसानको देश भनिन्छ तर कृषि पेशा अपहेलित छ, धेरै मिहिनेत गरेर थोरै मात्र आम्दानी हुने भएकोले कृषि पेशा अपहेलित छ ।” जुन पेशाबाट धेरै नाफा हुन्छ मानिस त्यतै आकर्षित हुने गरेको भन्दै नेता पौडेलले कृषिमा आकर्षण बढाउनुपर्नेमा जोड दिए ।
किसान र काङ्ग्रेसको सम्बन्ध अत्यन्त नजीकको रहेको चर्चा गर्दै नेता पौडेलले विपन्नलाई सम्पन्न गराउने पार्टी काङ्ग्रेस मात्रै रहेको दाबी गरे । नेपालमा राजनीतिक क्रान्ति सकिएको चर्चा गर्दै उनले अब आर्थिक क्रान्ति गर्ने पालो भएको र त्यो कृषिबाटै सम्भव रहेको बताए । ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले नगरको समृद्धिमा सहकारी कोसेढुङ्गा बन्नुपर्ने बताए ।