काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि आइतबारदेखि प्रदेशबाटै श्रम स्वीकति दिन थालेको छ ।
वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गरी सरल र सहजरुपमा उपलब्ध गराउने उद्देश्यले सरकारले आइतबारदेखि पहिलो चरणमा प्रदेश नं २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश नं ५ को बुटवलबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराउन थालिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
ती कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमनको कार्य गरिनेछ ।
सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेलगायत कार्य ती कार्यालयबाटै सम्पादन हुने मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले जानकारी दिए।
अन्य प्रदेशका श्रम तथा रोजगार कार्यालयमा पनि वैदेशिक रोजगारसँग सम्बन्धित सेवा प्रवाह गर्ने गरी आवश्यक व्यवस्था अन्तिम चरणमा पु-याइएको र छिट्टै ती कार्यालयबाट सेवा प्रवाह गरिने उनले बताए।
प्रदेशबाटै श्रम स्वीकृतिको व्यवस्था भएसँगै श्रम स्वीकृतिकै लागि राजधानी धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । अब सेवाग्राहीले श्रम स्वीकृतिका लागि काठमाडौँको ताहाचालस्थित श्रम कार्यालयमा लाइन लाग्नुपर्नेछैन ।
यसैबीच वैदेशिक रोजगारीमा जानेहरुको लागि जनकपुरबाटै काम हुन थालेपछि सेवाग्राहीहरु खुसी भएका छन् ।
प्रदेशबाट सेवा पाइँदा समय र रकमको बचत भएको धनुषास्थित बहुअर्वाका सेवाग्राही एमडी जिलानीले बताए ।