बाँके । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीमा खुल्ला प्रतियोगिताबाट लिइने भर्ना छनौट परीक्षा सबैको पहुँच हुने गरी निष्पक्ष र पारदर्शी रुपमा हुनुपर्ने बताएका छन् । प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जको बिहीबार निरीक्षण भ्रमण गर्दै खनालले सो कुरा बताएका हुन् ।
महानिरीक्षक खनालले तालिम केन्द्रमा कार्यरत प्रहरी कर्मचारी, प्रशिक्षक एवम् प्रशिक्षार्थीहरुलाई निर्देशन दिँदै प्रहरी सेवामा सामान्य नागरिकको सहज पहुँच हुनुपर्नेमा जोड दिए ।
परीक्षामा असफल हुने प्रशिक्षार्थीहरुलाई समेत प्रहरीबाट सभ्य, शिष्ट र सम्मानजनक व्यवहार हुनुपर्नेमा उनले जोड दिए ।
सुरक्षा प्रदान गर्ने निकाय कहिल्यै नराम्रो हुन नहुने र आफ्नो दायित्व के हो भन्ने बुझेर काम गर्न उनले आग्रह गरे ।
प्रहरी जवानमा नयाँ भर्नाका लागि हाल छनौट परीक्षा भइरहेको उक्त तालिम केन्द्र अवलोकनको क्रममा खनालले भर्ना छनौट प्रक्रिया, तालिम केन्द्र परिसर, प्रशिक्षण स्थल लगायतका स्थानको अवलोकन गरेका थिए ।