लहान । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भूमिहीन सुकुम्बासीको समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताएका छन् । नेपालमा बसोवास बस्ती संरक्षण समाजको २ नं प्रदेश अधिवेशनको आज लहानमा उद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले भूमिहीन सुकुम्बासी समस्याबाट वास्तविक तथ्य पत्ता लगाएर समाधानका लागि सरकार तत्पर रहेको बताए ।
प्रदेश नं २ मा सबैभन्दा बढी सुकुम्बासी र भूमिहीनताको समस्या रहेको उल्लेख गर्दै वास्तविक भूमिहीनहरुको पहिचान गरी उनीहरुको समस्या समाधानका सरकारले योजना अघि बढाइसकेको बताए ।
संविधानले नै भूमिहीन र सुकुम्बासीको उचित व्यवस्थापनका लागि सुनिश्चित गरिसकेको चर्चा गर्दै उनले भूमिहीन र सुकुम्बासीको उचित व्यवस्थापन नभएसम्म देशको समग्र विकास सम्भव नहुने दाबी समेत गरे ।
वास्तविक भूमिहीन सधैँ भूमिहीन नै भइरहने, हुकुम्बासी चाहीँ सुकुम्बासीको नाममा लुटिरहने प्रवृत्ति देखिदै आइरहेको छ, सङ्घीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री यादवले भने,“यो असाध्यै दुःखद् कुरा हो, यस्तो प्रवृत्तिको अन्त्य नभएसम्म सुकुम्बासी र भूमिहीनताको समस्या समाधान हुन सक्दैन् ।”
पटकपटक सुकुम्बासी समस्या समाधानका लागि आयोग बने तर, ती आयोगबाट समेत सन्तोषजनक काम हुन नसकेकाले अब सचेत हुनुपर्ने उनको भनाइ थियो ।