images
images

उखुको मुल्य मनपरी कपिलवस्तुका किसान मारमा

कृष्णनगर पुस ११, कपिलवस्तुका उखु किसान सरकारले तोकेको मूल्यभन्दा एक सय रुपियाँ सस्तोमा उखु बेच्न बाध्य छन् । भेली (गुँड) बनाउने क्रसर उद्योगले उखुको मनपरी मूल्य कायम गरेपछि किसान प्रत्यक्ष मारमा परेका छन् ।

कपिलवस्तु जिल्लामा रहेका करिब एक सय उखु (गुँड) उद्योगले आफुखुसी मूल्य तोकेका हुन् । जवाभारीस्थित महालक्ष्मी सुगर्स मिल सर्लाही स्थानान्तरण भएपछि किसानहरू सस्तोमा भेली क्रसरलाई उखु बेच्न बाध्य छन् । नेपाल सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५१८ तोकेको छ । कपिलवस्तुका उखु कृषकले चार सय रुपियाँ सम्ममा बिक्री गर्दै आएका छन् । चिनी मिल नहुँदा उखु नै बिक्री नहुने डरमा किसान सस्तोमा बेच्न बाध्य भएका हुन् । 

कच्चा पदार्थको अभाव देखाउँदै महालक्ष्मी सुगर मिल सर्लाही स्थानान्तरण भएपछि उखु कृषकले बजार अभाव भोग्दै आएका छन् । मिल स्थानान्तरण भएसँगै सख्खर उद्योग फस्टाएका छन् । जिल्लाका किसानले उखु खेती घटाउँदै लगेका छन् । उखु बिक्री गर्न बजारको समस्या भएपछि केही कृषकले क्रसर उद्योगमा भेली बनाउन दिएका छन् भने कतिपय आफैले क्रसर उद्योग स्थापना गरी भेली बनाउन थालेका छन् । सरकारले मूल्य तोके पनि भेली क्रसरले नमान्ने गरेको कृषक ऋषिकान्त चौधरीले बताउनुभयो ।

कपिलवस्तुको पश्चिमी दक्षिण क्षेत्रमा सुख्खा क्षेत्र रहेको अधिकांश कृषकले उखु खेती गर्दै आएका थिए । मिल स्थानान्तरण पछि कपिलवस्तुको शिवराज नगरपालिका र कृष्णनगर नगरपालिकालगायतका क्षेत्रका उखु किसानले सख्खर उत्पादन गर्न थालेका छन् । अन्य आम्दानी नभएका किसानले उखु खेती गरेर दुई वर्षदेखि वैकल्पिक उपाय अँगाल्न बाध्य बनेका हुन् ।
गुड उद्योगले मनपरी ढङ्गबाट उखु खरिद गरे पनि सरकारी निकायबाट यसको अनुगमन नभएको किसान अगुवा अनुप चौधरी बताउनुहुन्छ । उखुमा किसानले घाटा मात्र खाए, यसले गर्दा खेती गर्न छाडेका छन् उहाँले भन्नुयो ।

जिल्ला प्रशासन, कृषि ज्ञान केन्द्र तथा स्थानीय तहले समेत उखुमा भइरहेको मनपरी मूल्यबारे चासो नदिएको उहाँको गुनासो छ । विशेष गरी कृष्णनगर, महाराजगञ्ज, शिवराज नगरपालिका र विजयनगर गाउँपालिकामा झण्डै एक सयभन्दा बढी गुँड बनाउने उद्योग सञ्चालनमा छन् । राज्यले उखु कृषक प्रोत्साहन गर्ने लक्षित कार्यक्रम नल्याए यहाँ उखु उत्पादन शून्य हुने अगुवा कृषकहरूको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले उखु कृषकले कम मूल्यमा खरिद गरेका गुँड उद्योगको बारेमा जानकारी दिए कारबाही गर्ने जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले नेपाल सरकारले तोकेको उखुको मूल्य कृषकले पाउनुपर्ने बताउनुभयो । उखु कृषक आफै सजग भएर सरकारले तोकको रकमभन्दा नघटाएर उखु बेच्नुपर्ने अर्यालले जानकारी दिनुभयो । सरकारले तोकेकोभन्दा कम मूल्यमा कुनै व्यवसायीले उखु किन्न खोज्छ भने उजुरी गर्नुस् हामी कारबाही गर्छौँ उहाँले भन्नुभयो । यता गुँड व्यवसायीले चिनीको तुलनामा गुँड उत्पादन उखुबाट कम हुने भएकाले चिनी उद्योग बराबरको मूल्य दिन नसक्ने बताएका छन् ।

स्रोत :- गोरखापत्र