पश्चिम नवलपरासी पुस ६, कर्मचारी समायोजन अध्यादेशको विरोधमा स्थानीय तहका कर्मचारीहरुले गरेको आन्दोलनका कारण नवलपरासी जिल्लाका सबै सरकारी कामकाज प्रभावित भएको छ ।कर्मचारीहरुको आन्दोलनले स्थानीय तहबाट हुने सिफारिस, राजश्व संकलन लगायत सम्पूर्ण काम बन्द हुँदा अन्य सरकारी कार्यालयका कामसमेत प्रभावित बनेका हुन् ।
कर्मचारीहरुको आन्दोलनका कारण नगर प्रमुख/गाउँपालिका प्रमुख सहित सबै जनप्रतिनिधिहरु समेत कार्यालयमा उपस्थित छैनन् । आन्दोलनका कारण काम नहुने भएपछि जनप्रतिनिधिहरु कार्यालयमा नपुगेका हुन् । निजामती कर्मचारीहरु एक तह बढुवा भएर स्थानीय तहमा जाने तर वर्षौदेखि कार्यरत स्थानीय तहका कर्मचारीहरुको बढुवा र कुनै सेवा सुविधा उपलव्ध नगराएको भन्दै कर्मचारहिरु मंसिर २८ देखि चरणबद्ध आन्दोलनमा छन् ।
पुस ३ गतेसम्म सांकेतिक आन्दोलन गर्दै आएका कर्मचारीहरुले आफ्ना मागप्रति सरकारले सुनुवाइ नगरेको भन्दै ४ गतेदेखि कामकाज नै ठप्प पारेर आन्दोलन गर्न थालेका हुन् । स्थानीय तहमा कार्यरत अस्थायी, करार, ज्यालदारी र सामाजिक परिचालकहरुलाई पनि निजामती सरह सेवा सुविधा दिनुपर्ने उनीहरुको माग छ ।
स्रोत :- अन्नपुर्णपोष्ट