काठमाडौं असोज २,प्रधानमन्त्री केपी शर्मा ओली संयु्क्त राष्ट्रसङ्घको ७३ औं महासभामा भाग लिन यही असोज ६ गते अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुहुने भएको छ । महासभामा भाग लिन प्रधानमन्त्री ओलीसहितको उच्चस्तरीय टोली अमेरिका जाने तयारी गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले बताउनुभयो ।
उहाँका अनुसार राष्ट्र सङ्घको महासभाको औपचारिक बैठक यही असोज २ गते मङ्गलबारदेखि हुने भए पनि उच्चस्तरीय सम्बोधन भने असोज ९ गतेबाट मात्र सुरु हुनेछ । प्रधानमन्त्री ओलीले महासभा बैठकलाई असोज ११ गते सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
“राष्ट्रसङघ सबै नागरिकका लागि सापेक्ष बनाऔ शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट” मुल नारा तय गरिएको महासभाका लागि प्रधानमन्त्रीसँग २० जनाको उच्चस्तरीय टोली अमेरिका जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नयाँ संविधान जारी गरेपछि सम्पन्न गरेको तीनै तहको निर्वाचन र नेपालले चालेको पछिल्लो आर्थिक समृद्धिको विषयलाई महासभा बैठकमा प्रधानमन्त्रीले औपचारिकरूपले जानकारी गराउने तयारी गर्नुभएको सचिवालयले जनाएको छ ।
स्रोत :- गोरखापत्र