धनुषा साउन २४,जनकपुर जयनगर बर्दिवास ब्रोडगेज रेल सेवाको परीक्षण सञ्चालन बुधबारबाट सुरु भएको छ । भारत सरकारको सहयोगमा करिव १० अर्व रुपियाँको लागतमा निर्माण भएको सो ब्रोडगेज रेल सेवाको पहिलो चरण अन्तर्गत भारतको जयनगरदेखि नेपालको खजुरी स्टेशनसम्म साढे आठ किलोमिटर दुरीमा परीक्षण सञ्चालन गरिएको हो । परीक्षणका क्रममा इञ्जिन तथा ५२ वटा डब्बा सञ्चालन गरिएको नेपाल रेल विभाग साइट कार्यालय जनकपुरका प्रमुख इञ्जिनियर विनोद ओझाले जानकारी दिनुभयो ।
भारतको जयनगरदेखि नेपालको बर्दिवाससम्म ६९ किलोमिटरमा रेल सञ्चालन गर्ने गरी काम भइरहेको र सो काम निकै अगाडि बढेको छ । पहिलो चरणमा यही अक्टोबरसम्म जयनगरदेखि कुर्थासम्म पूर्ण रुपमा रेल सेवा सञ्चालन गर्ने भएकाले अधिकांश काम अन्तिम चरणमा पुगेको इञ्जिनियर ओझाले जानकारी दिनुभयो ।
महोत्तरी जिल्लाको भङ्गहादेखि बर्दिवास खण्डमा जग्गा अधिग्रहणको कामकाज भइरहेको छ । रेल निर्माणको ठेक्का लिएका भारतका इर्कान कम्पनीले बुधबार रेल सेवाको परीक्षण सञ्चालन गरेको हो । भारतीय रेलको ब्रोडगेज सेवाको सञ्चालनसँगै नेपाली भूमि भारतीय रेल सञ्जालसँग जोडिएको छ । भारतको कुनै पनि सहरबाट अव जनकपुरधामसहित नेपाल प्रवेशमा सजिलो हुनुका साथै भारतको कलकोता बन्दरगाहबाट मालसामान ढुवानी गर्न सस्तो पर्ने यस क्षेत्रका ब्यापारीले बताएका छन् ।