रुपन्देही बुटवल साउन २३, बुटवलको बजार क्षेत्रमा रेल्वे लिग पर्ने भएपछि पूर्वपश्चिम रेलमार्गको लागि फ्लाइओभर (आकाशेपुल) बनाइने भएको छ। रेलमार्गको बुटवल–लमही खण्डअन्तर्गत बुटवलको कालिका नगर क्षेत्रमा आकाशेपुल बनाएर रेल पार गराउने गरी डीपीआरको ड्राफ्ट तयार भइसकेको छ।
यसअघि बस्तीबाटै रेल लैजाने तयारी भएको भन्दै विरोध भएको थियो। स्थानीयहरूले संघर्ष समिति बनाएर रेल बस्ती मासेर लैजान नहुने भन्दै आन्दोलनमै उत्रिएका थिए। सयौं घर मासिने भएपछि रेल विभागले आकाशेपुलको अवधारणा ल्याएको हो।
‘डीपीआरको ड्राफ्ट तयार भएर विभाग बुझाइसकिएको छ’, रेल विभागका सिनियर डिभिजन इन्जिनियर प्रकाशभक्त उपाध्यायले भने, ‘सायद एक÷दुई महिनामै फाइनल रिपोर्ट तयार हुन्छ।’ चिनियाँ कम्पनी सिवानले डीपीआरको काम गरेको छ।
रेलमार्ग बनाउँदा आफूहरूको बस्ती उठ्ने भन्दै बुटवल कालिकानगरका स्थानीय विरोधमा उत्रिएपछि आकाशेपुल बनाएर रेल लैजाने गरी रेलमार्गको डिजाइन गरिएको हो। रेलका लागि कालिकानगरको पूर्वतर्फ जंगलमा स्टेसन बनाइनेछ। स्टेसनबाट कालिकानगर हुँदै तिनाउ पारिसम्म आकाशेपुल बन्नेछ। अढाई किलोमिटर लम्बाइको आकाशेपुलका लागि बीचबीचमा ८ देखि ९ मिटर अग्लो पिल्लर बनाइने छ। पूर्वदेखि पश्चिमसम्म रेलमार्गको डिजाइन गरेको क्षेत्रमध्ये बुटवलको कालिकानगरमा सबैभन्दा बाक्लो बस्ती परेको छ। बाक्लो बस्ती भएका कारण रेलमार्ग निर्माणका लागि बुटवलमा ठूलै चुनौती देखिएको थियो। स्थानीयको तीव्र विरोधका कारण अन्य ठाउँमा रेलको विस्तृत इन्जिनियरिङ सर्भे भए पनि बुटवल क्षेत्रमा काम अघि बढ्न सकेको थिएन।
“मुख्य राजमार्गभन्दा धेरै टाढा रेलमार्ग नलैजाने पक्षमा रेल विभाग छ”
कालिकानगरबासीले कुनै हालतमा बस्ती उठाएर रेल लैजान नदिने अडान लिएपछि रेल विभाग समस्यामा परेको थियो। कालिकानगर क्षेत्रमा स्थानीयको तीव्र विरोधपछि विभागले बुटवलबाट दक्षिण तिलोत्तमा नगरपालिकामा पनि ठाउँ हेरेको थियो। त्यहाँ पनि स्थानीय विरोधमा उत्रिएका थिए। तिलोत्तमा क्षेत्रमा सिद्धार्थ राजमार्गको पूर्व र पश्चिम दुवैतर्फ फराकिलो बस्ती छ। मुख्य राजमार्गभन्दा धेरै टाढा रेलमार्ग नलैजाने पक्षमा रेल विभाग छ। रेलको लागि मर्मत सम्भार आवश्यक परिरहने र यात्रुका लागि पनि रेलसम्म पुग्न सहज बाटो आवश्यक पर्ने हुँदा राजमार्गभन्दा रेलमार्ग टाढा बनाउन उपर्युक्त नहुने विभागको तर्क थियो।
रेल विभागका सिनियार डिभिजनल इन्जिनियर उपाध्यायले स्थानीयको भावनाअनुरूप आकाशेपुल निर्माणका योजना बनेको बताए। ‘बजार क्षेत्र अनि बस्ती धेरै भयो, पब्लिकलाई भताभुंग पारेर कसरी विकास गर्नु ? स्थानीयको भावना पनि समेट्न खोज्दा यो विकल्प गर्नुपर्यो’, उनले भने।
आकाशेपुलबाट रेलमार्ग बनाउँदा बस्ती नै नउठे पनि केही घरलाई मुआब्जा दिएर हटाउनुपर्ने अवस्था आउने छ। त्यसका लागि ठूलो समस्या नहुने विभागले जनाएको छ। डिजाइनको काम सकिए पनि बजेट उपलब्ध भएमा निर्माणको काम अघि बढाउने योजनामा विभाग रहेको छ। पूर्वपश्चिम रेलमार्गका लागि यस वर्ष सरकारले ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। ‘काम अगाडि बढे बजेटको कमी हुन दिन्नँ भनेर अर्थमन्त्रीले भन्नुभएको छ’, उपाध्यायले भने।
पूर्वपश्चिम रेलमार्गका लागि पूर्वतर्फ लिग निर्माण कार्य सुरु भइसकेको छ। बुटवल पश्चिम ढिलो गरी डीपीआर बनाइएको हो।
स्रोत :- अन्नपुर्णपोष्ट