images
images

पौडीखेल्ने क्रममा तीनजना बालक बेपत्ता

सोलुखुम्बु साउन २३, सोलुखुम्बु स्थित गोक्यो हिमतालमा पौडी खेल्ने क्रममा हराइरहेका तीन जना विद्यार्थी नभेटिएपछि खोजीका लागि शसस्त्र प्रहरीका पाँच जना गोताखोरको टोली त्यहाँ पुगेको छ । मौसम प्रतिकूल भएपछि हेलिकोप्टर जान नसक्दा गोतोखोरको टोली हिँडेर नै ताल पुगेको छ ।

प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानामगरले चार दिनदेखि तालमा डुबेका बालकहरूको अवस्था अझै अज्ञात रहेको बताउँदै गोताखोर टोलीले वुधबारबाट मात्र खोजी कार्य गर्ने जानकारी दिनुभयो । खुम्जुङ माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई शैक्षिक भ्रमणका क्रममा विश्व रामसार सूचीमा सुचिकृत गोक्यो क्षेत्र लगिएको थियो । सोही क्रममा तालमा पौडी खेल्दै गर्दा पेम्बा दोर्जी शेर्पा, सुनिल बराइली र पेम्बा नुरु शेर्पा डुबेका थिए ।

शुन्य डिग्री सेल्सियस तापक्रममा रहने उक्त तालमा यति लामो समयसम्म नभेटिएपछि ती बालकहरु जीवित भेटिने आश मरिसकेको स्थानीयको भनाइ छ । गोक्यो हिमताल समुन्द्री सतहबाट चार हजार ७५० मिटरको उचाईमा पर्दछ । हाइ अल्टीच्युटमा रहेको हिमताल भएका कारण यहाँको तापक्रम सँधै माइनस २ डिग्री सेल्सियस भन्दा कम हुन्छ ।

स्रोत :- गोरखापत्र