images
images

डुबान र कटानको त्रासले स्थानिय रातभर जागाराम

काठमाण्डौ साउन २०,पूर्वी नवलपरासीमा वर्षा सुरु हुनासाथ नदी आसपास क्षेत्रमा डुबान र कटानको समस्याले यहाँका बस्ती सधैं जोखिममा पर्दैआएका छन् । जिल्लाको मध्यविन्दु नगरपालिकाको नन्दपुर, सेयरी, ध्वजा, प्रसौनी, कावासोतीको लौखानी, पिठौली, देवचुलीको रजहर, दिव्यपुरी, विनयी त्रिवेणी को दुम्कीबासलगायतका क्षेत्रमा अहिले डुबानले सयौं मानिस विस्थापित भएका छन् भने कटानले खेतीयोग्य जमिन बगरमा परिणत भएको छ ।

विगत १४ वर्षदेखि मध्यविन्दु नगरपालिका–२, नन्दपुरमा बसोवास गर्दै आउनुभएका जीवन गिरीको वर्षाको समय सुरु भएदेखि नै नदी हेरेर दिन बित्ने गर्दछ । गिरीको १८ कट्ठा जग्गामा अहिले नदी बगेको छ । बर्सेनि नदी कटानबाट बाँकी रहेको चार कट्ठा पनि कतिवेला लैजान्छ भन्ने चिन्तामा रहेको बताउनुहुन्छ गिरी । उहाँ भन्नुहुन्छ, नारायणी नदी कतिबेला उर्लेर आउँछ थाहा हुँदैन, सधै त्रासमा बाँच्नुपर्छ, राति सुरक्षित गाउँतिर गएर जागा बस्ने गर्दछु ।

अमलटारी मध्यवर्ती उपभोक्ता समितिको वन क्षेत्र नजिकबाट बहने नदीले २०५० सालदेखि आफ्नो धार परिवर्तन गरेर बहन थालेको स्थानीयले बताएका छन् । विसं २०५७ साउनमा आएको बाढीका कारण साविक नारायणी गाविस–३ र ४ डुबानमा पर्दा १४१ घर विस्थापित भएका थिए । त्यस्तै साविक कोल्हुवा गाविस–६, नन्दपुरका ९७ घर विस्थापित भएका थिए ।

विस्थापित भएकाहरू ध्वजाहा टाडी, चोरमारा लगायतका ठाउँमा बसोवास गरिरहेका छन् । गत वर्ष पनि नन्दपुरमा करिब छ सय घरधुरी  डुबानमा परेका थिए भने अहिले पनि सयौं घर डुबानमा परेका छन् । बर्सेनि नदीले विस्थापित गर्दा पनि सम्बन्धित सरोकारवाला निकायले ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन् ।

साउन र भदौ महिनामा झन् बाढी आउने हुँदा अहिले पनि कटान र डुबानको सम्भावना रहेको स्थानीय ढाकाराम पाठकले बताउनुभयो । पाठक भन्नुहुन्छ, नदीले हुने क्षति कम गर्नका लागि सरकारले पहल थाल्नुप¥यो, सिँचाइ मन्त्रालयदेखि सम्बन्धित सबै ठाउँमा पहल गरे पनि नियन्त्रणमा सरकारले ध्यान दिएन ।

समस्याको स्थायी रोकथामका लागि कावासोती–१७ को अमलटारी मध्यवर्ती क्षेत्र नजिकबाट बहने नदीलाई पहिलेकै अवस्थामा फर्काउन पर्छ नभए बर्सेनि हजारौं घरपरिवार यहाँबाट विस्थापित हुनेछन्, स्थानीय लालप्रसाद पाठकको भनाइ छ । नदी आसपासका स्थानीयको धेरै खेतीयोग्य जमिन बगरमा परिणत भएको छ भने विस्थापितहरू सुकुम्बासी भएर बस्न बाध्य छन् । नदी नियन्त्रण र व्यवस्थापनका लागि प्रदेश र केन्द्रिय सरकारसँग छलफल गरिएको मध्यविन्दु नगरपालिका–२ का वडाध्यक्ष नारायण पौडेलले बताउनुभयो । स्थानीय निकायले गर्ने विपद् व्यवस्थापनको कार्यक्रममा आवश्यक स्रोत साधनको अभाव हुने हुँदा नदीको दीर्घकालीन व्यवस्थापनको योजना बनाउन आवश्यक रहेको वडाध्यक्ष पौडेलको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्जलाई छोड्दै बर्सेनि नारायणी नदी नवलपुर क्षेत्रका बस्तीतर्फ धार परिवर्तन गरेर बहदै छ । यसको समयमा नै स्थायी रोकथाम भएन भने अझै हजारौँ बिघा जमिन कटान गर्ने र दसौँ हजार मानिस विस्थापित हुने सम्भावना देखिएको कोल्हुवाका समाजसेवी बद्रीनाथ नेपाल बताउनुहुन्छ ।

अहिले नदी आसपासका बस्ती जोखिममा रहेका, विपद् व्यवस्थापनका लागि जति कार्यक्रम गरिए पनि प्रभाकारी नदेखिएको र सरकारले पनि क्षति कम गर्न दीर्घकालीन योजना अघि सार्नुपर्ने मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाँइ बताउनुहुन्छ । नगरपालिकाले पनि यसतर्फ छिट्टै कदम चाल्ने सेढाँइ बताउनुहुन्छ ।

स्रोत :- गोरखापत्र