images
images

मुलुकको दोस्रो ठुलो बेलहिया नाकाबाट सवाँ दुई खर्ब व्यापार घाटा

रुपन्देही भैरहवा साउन १६,नेपाल–भारत सीमानाका रूपन्देहीको बेलहियाबाट मात्रै गत आर्थिक २०७४/७५ मा झन्डै सवा दुई खर्ब रुपियाँको व्यापार घाटा भएको छ । वीरगञ्जपछिको मुलुककै दोस्रो ठूलो भन्सार नाका बेलहियाबाट आर्थिक वर्ष २०७४/७५ मा मात्रै दुई खर्ब २० अर्ब ५३ करोड व्यापार घाटा भएको हो ।

भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत कलिराम पौडेलका अनुसार गत आर्थिक वर्षमा दुई खर्ब २४ अर्ब तीन करोडको सामान आयात हुँदा निर्यात भने तीन अर्ब ५० करोडको मात्रै भएको छ ।  यो घाटा निर्यातको तुलनामा ९८.४३ प्रतिशतले बढी हो । निर्यातको तुलनामा आयात अत्यधिक हुँदा भारत तथा तेस्रो मुलुकसँग हुने आयात–निर्यातको खाडल आकासिँदै गएको छ ।

तथ्याङ्कअनुसार आयातबाट भन्सारले ७० अर्ब आठ करोड २४ लाख राजस्व सङ्कलन गर्दा निर्यातबाट भने जम्मा ४६ लाख ९५ हजार मात्रै राजस्व सङ्कलन गरेको छ । आयात गर्दा राज्यकोषमा राजस्व वृद्धि भए पनि व्यापार घाटा भने असन्तुलित बन्दैगएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा पनि एक खर्ब ९८ अर्ब ८० करोड रुपियाँ बराबरको व्यापार घाटा भएको थियो । भैरहवा भन्सार नाका हुँदै दुई खर्ब तीन अर्ब ४० करोड रुपियाँको सामान आयात हुँदा जम्मा चार अर्ब ६० करोड रुपियाँ बराबरको मात्र सामान निर्यात भएको थियो । भन्सारको तथ्याङ्कअनुसार पछिल्ला वर्षमा निर्यातको क्रम घट्दैगएको छ भने आयात ह्वात्तै बढेको छ ।

गत आर्थिक वर्षमा पाँच अर्ब दुई करोड ७९ लाख बराबरको जिप, कार र भ्यान आयात भएको छ । त्यस्तै सात अर्ब ८६ करोड ३६ लाखको मोटरसाइकल, २३ अर्ब ३६ करोड ४० लाखको एमएस ब्लेड, १३ अर्ब ६७ करोड ९४ लाखको डिजेल तथा दुई अर्ब ८४ करोड ४५ लाख बराबरको पेट्रोल आयात भएको छ ।

त्यस्तै पाँच अर्ब ६८ करोड ८४ लाखको सिमेन्ट क्लिङ्कर, तीन अर्ब ८५ करोड ४४ लाखको टायल, तीन अर्ब ५६ करोड ९२ लाख ट्रक÷मिनी ट्रक, एक अर्ब ६२ करोड ८८ लाखको सिङ्गल क्याब पिकअप गाडी र एक अर्ब १८ करोड ४० लाख बराबरको डबल क्याब पिकअप गाडी आयात भएको छ ।

त्यस्तै दाल, धान–चामल, तरकारी, स्पिरिट (रक्सीको कच्चा पदार्थ), इलेक्ट्रोनिक सामान, बिस्कुट, भुजिया, मसला, सुपारी, दैनिक उपभोग्य सामग्री, मेहेन्दी, अबिर, केसरीलगायतका सामानको आयात पनि अत्यधिक बढेको छ ।  भन्सारको तथ्याङ्क अनुसार बेलहिया नाकाबाट चार सयभन्दा बढी प्रकारका सामान आयात भएको छ भने निर्यात भने १०÷१५ प्रकारका वस्तु मात्रै भएको छ ।

नेपालबाट बेलहिया नाका हुँदै गत आर्थिक वर्षमा ८१ करोड ५६ लाखको सेन्थेटिक यार्ना, ६६ करोड ३८ लाखको बोरा, ५५ करोड ४६ लाखको रद्दी कागज, ३६ करोड १८ लाखको रेसाको कपडा, १८ करोड ५९ लाखको अदुवा तथा सुठो निर्यात भएको छ ।
यस्तै १४ करोड ७० लाखको जडीबुटी, १० करोड ९० लाखको पिना, नौ करोड ९८ लाखको काँच, डण्डी र ट्युब, नौ करोड ८३ लाखको चोकर, सात करोड ७६ लाखको खोटो र रेजिन निर्यात भएको सूचना अधिकृत पौडेलले बताउनुभयो ।

यसबाहेक ३८ करोड ७९ लाख बराबरको अन्य वस्तु निर्यात भएको छ । खासगरी विलासिताका सामान, मोटरसाइकल, कार, जीप भ्यान लगायतका सामानको आयात बढ्दो छ । त्यस्तै औद्योगिक कच्चा पदार्थ, सिमेन्ट क्लिङ्कर, एमएस ब्लेड, खाद्यान्न, फलफूल, तरकारीलगायतका सामग्रीको आयात पनि बढ्दैगएको छ । नेपालबाट भारततर्फ निर्यात हुने वस्तु न्यून हुनु र निर्यातजन्य वस्तु हुँदा पनि पैठारी गर्न नसक्नु जस्ता कारणले व्यापार घाटा बढ्दै गएको सिद्धार्थनगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलप्रसाद न्यौपानेले बताउनुभयो ।

बढ्दो व्यापार घाटा कम गर्न भैरहवामा स्थापना भएको विशेष आर्थिक क्षेत्र (सेज) शीघ्र सञ्चालनमा ल्याउनुपर्ने, बुटवलको प्रादेशिक स्तरको मोतीपुर औद्योगिक क्षेत्र स्थापनालाई छिटो कार्यान्वयनमा ल्याउनुपर्ने, स्वदेशी उत्पादनको प्रयोगलाई कानुन बनाएरै अनिवार्य गर्नुपर्ने र निर्यात प्रवद्र्धनलाई सङ्घीय र प्रदेश सरकारले प्राथमिकतामा राख्नुपर्ने उद्योग व्यापार सङ्गठन रूपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारीले बताउनुभयो ।

स्रोत :- गोरखापत्र