काठमाण्डौ साउन ४, राजधानीको शान्तिनगरस्थित सुकुम्वासीबस्तीबाट बरामद अबैध घरेलु मदिरामा ‘युरिया मल’ र अखाध्य पदार्थ मिसाइने गरेको पाइएको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले बिहीवार बिहान स्थानीय मदिरा भट्टीहरूमा छापामारी बरामद गरेको कच्चा पदार्थभित्र युरिया मलखाद मिसाइएको अवस्थामा फेला पारेको हो ।
सो वृत्तका प्रहरी निरीक्षक खेमप्रसाद नेपालले घरेलु मदिरा उत्पादनका लागि तयार पारिएको कच्चा पदार्थभित्र युरिया मल फेलापरेको जानकारी दिनुभएको हो । उहाँले घरेलु मदिरा उत्पादनस्थलबाट दुईहजार छसय लिटर मदिरा, छहजार लिटर कच्चा पदार्थ, घरेलु मदिरा छ्याङ तथा जाँड बनाउन प्रयोग हुने कच्चा पदार्थ पाँचहजार लिटर र छ्याङ बरामद गरेको छ
त्यस्तैं, मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थहरूमा कुहिएको भात र पाउरोटीको लेदो पाँचसय लिटर, कच्चा पदार्थमा प्रयोग हुने वस्तु सख्खर चारसय किलो र युरिया मल ३० किलो बरामद गरेको जानकारी उहाँले दिनुभएको हो ।
सुकुम्वासी बस्तीबाट बरामद मदिरा स्थानीयवासी र सञ्चारकर्मीको रोहबरमा नष्ट गरी उत्पादकलाई एक पटकलाई सचेत गराई छाडिएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको हो । यसैबीच, थानकोट डेरा गरी बस्ने रौतहट राजदेवीका ३९ वर्षीय तनवीर मिकरानी लागूऔषधसहित कोटेश्वरबाट पक्राउ परेका छन् । उनको साथबाट ब्रुनर्फिन पाँचसय, डाइजेपाम पाँचसय र फेनारगन पाँचसय गरी एकहजार छसय एम्पुल बरामद भएको जानकारी प्रहरीले दिएको छ ।