काठमाण्डौ साउन ३२, साउन महिनाको सबै सोमवार पशुपतिनाथ मन्दिरको चारैढोका बिहान ३ः०० बजेदेखि नै खुला हुने भएको छ । साँझ ७ः३० बजे आरती सकिएपछि साविक अनुसार नै मन्दिरको ढोका बन्द हुन्छन् । पशुपतिनाथका बिसेट अरुण श्रेष्ठका अनुसार बोलबम यात्रीका लागि पङ्क्तिवद्ध हुन नपर्ने व्यवस्था छ । मन्दिर प्रवेश गर्नेे सिँढीतर्फको पूर्वी ढोकापनि खुला हुन्छ ।
बोलबम बाहेकका भक्तजनलाई पश्चिम, दक्षिण र उत्तर रुद्रगोडेश्वरतर्फबाट मन्दिर प्रवेशको व्यवस्था गरिएको छ । पशुपतिनाथ बाहेक नौ शिवालय, एघार शिवालय, भष्मेश्वर लगायतका शिवालयमा पनि भक्तजन पुगून् भन्ने चाहना राखिएको छ । यसै अनुसार पशुपति क्षेत्र विकास कोषले आवश्यक व्यवस्थापनको पूर्व तयारी गरेको छ ।
यो पटक एक लाखभन्दा बढी बोलबम यात्रीले पशुपतिको दर्शन गर्ने अनुमान गरिएको छ । बोलबम यात्रीको व्यवस्थापनका लागि ओम् बोलबम काँवरिया सङ्घ सभाले बारा कलैया निवासी सुनिल ठाकुरको अध्यक्षतामा कार्यकारी समिति पुनर्गठन गरेको छ ।
रामअवतार पण्डित महाउपाध्यक्ष, छविलाल मण्डल उपाध्यक्ष, महासचिवमा जयप्रकाश ठाकुर, सचिवमा सञ्जिवकुमार कुशवाह, कोषाध्यक्षमा रामकिशोर यादव, सहकोषाध्यक्षमा छविलाल ठाकुर, कार्यकारी उपाध्यक्षमा हरिन्द्र कुशवाह, वरिष्ठ सल्लाहकारमा वीरेन्द्र ठाकुर, र सदस्यमा घनश्याम ठाकुर, भोला महतो र रिन्कु ठाकुर हुनुहुन्छ ।
अध्यक्ष सुनिल ठाकुरका अनुसार भारत मोतिहारीबाट प्रसिद्ध भोजपुरी गायक सुभाष राजा सहितको टोलीले सुन्दरीजलमा भक्ति सङ्गीत प्रस्तुत गर्दैछ । भारतको चम्पारणबाट पनि बोलबम एकत्रित भएर यहाँ आउँदैछन् । बोलबम यात्रीले यो पटक जलद्रोणी दक्षिण फर्किएको जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेवमा पनि जल चढाउने भएका छन् ।
यो पल्ट साउनमा चारवटा सोमवार परेको छ । साउन महिना र साउनको सोमवार स्तूति गर्दा छिट्टै प्रशन्न हुने स्वभावका आशुतोषले मनोरथ पूरा गर्छन् भन्ने जनविश्वास छ ।
स्रोत :- गोरखापत्र