images
images

नेपाल भ्रमण गर्ने पर्यटकको संख्यामा बृद्धि

काठमाण्डौ असार ७, सन् २०१७ को मे महिनाको तुलनामा सन् २०१८ को मे महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या ९.६ प्रतिशतले वृद्धि भएको छ । अध्यागमन विभागको तथ्यांक अनुसार सन् २०१८ को मे मा ६८ हजार ८२५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । योसहित पाँच महिनामा चार लाख ५४ हजार ८५५ विदेशी पर्यटक नेपाल आएका छन् । सन् २०१७ को सोही अवधिमा १२.५ प्रतिशतले बढी हो ।

तथ्यांक अनुसार सन् २०१७ को मे महिनाको तुलनामा यस वर्षको मे महिनामा भारतबाट सबैभन्दा बढी ८.६ प्रतिशत पर्यटक आएका छन् । त्यसैगरी दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का मुलुकबाट आउने पर्यटकको आवागमनलाई हेर्दा गत वर्षको यही महिनामा सकारात्मक वृद्धि (२.२ प्रतिशत) देखिन्छ । पर्यटक आगमनको आँकडा हेर्दा चीनबाट नेपाल आउने पर्यटकको संख्या निरन्तर बढ्दै गएको छ ।

सन् २०१७ को मे महिनाको तुलनामा यस वर्षको मे महिनामा २५.२ प्रतिशतले वृद्धि भएको छ । पर्यटक आगमनमा सार्क मुलुकको तुलनामा एशिया १४.२ प्रतिशतले अगाडि छ । थाइल्याण्ड र सिंगापुरबाट नेपाल आउने पर्यटकको संख्यामा वृद्धि भई क्रमशः ६२.१ प्रतिशत र ११.३ प्रतिशत पुगेको छ ।

समग्रमा गत वर्षको मे महिनामा युरोपबाट नेपाल आउने पर्यटकको संख्या १८ प्रतिशतले घटेको पाइएको छ । तथापि फ्रान्स र जर्मनीबाट आउने पर्यटकको संख्या क्रमशः २६.८ र ४९ प्रतिशतले बढेको छ । सोही अवधिमा संयुक्त अधिराज्य बेलायतबाट आउनेको संख्या ७.४ प्रतिशतले घटेको देखिन्छ ।

सन् २०१७ को मे महिनाको तुलनामा सन् २०१८ मे महिनामा अष्ट्रेलिया र न्यूजील्याण्डबाट आउने पर्यटकको संख्यामा क्रमशः १०.४ र २८.७ प्रतिशतले वृद्धि भएको छ । संयुक्त राज्य अमेरिका र क्यानडाबाट पनि अघिल्लो वर्षको तुलनामा सन् २०१८ को मे महिनामा क्रमशः ७.४ र ५.३ प्रतिशतले पर्यटक आगमनमा वृद्धि भएको छ ।