images
images

रहेनन् डा.उपेन्द्र देवकोटा

काठमाण्डौ असार ४, वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको सोमबार अपरान्ह निधन भएको छ ।  पित्त थैलीको क्यान्सरबाट गम्भीर बिरामी देवकोटाको सोमबार अपरान्ह ५ बजेर ३४ मिनेटमा निधन भएको उनका सहयोगी तारा अधिकारीले जानकारी दिएका छन् ।

वरिष्ठ न्युरोसर्जन देवकोटालाई पित्त्तथैलीसम्बन्धी क्यान्सर भएको थियो। पित्तथैली र पित्तनली वरिपरिको भागमा हुने यो क्यान्सरलाई मेडिकलको भाषामा ‘कोलान्जिओकार्सिनोमा’ भन्ने गरिन्छ।

नेपालमै रहँदा बिरामी भएपछि डा. देवकोटा बेलायत पुगेर त्यहाँको लण्डनस्थित किङ्ग्स कलेज अस्पतालमा भर्ना भएका थिए । उनको पित्तथैली र नली वरिपरि क्यान्सर फैलिएपछि शल्यक्रिया गर्न नसक्ने अवस्था रहेको त्यहाँका चिकित्सकले बताएका थिए। शल्यक्रिया गरेर उपचार सम्भव नभएपछि देवकोटाकै इच्छा अनुसार नेपाल फर्काइएको थियो ।

नेपालमै रहँदा जन्डिसको लक्षण देखिएपछि उनले यहीँ स्वास्थ्य परीक्षण गरेका थिए। नेपालको परीक्षणमा क्यान्सर पाइएपछि उनी श्रीमती डा मधु दीक्षित देवकोटासहित लन्डन गएका थिए ।

कलेजोभन्दा तल र सानो आन्द्रासँग जोडिएर पित्तथैली रहेको हुन्छ। पित्त थैलीको काम भनेको कलेजोले उत्पादन गर्ने पित्तलाई पित्तनलीको बाटोबाट जम्मा गर्नु हो । पित्तकै कारण मानिसले खाने खाना र खानामा हुने चिल्लो पदार्थ सजिलै पचाउन सम्भव हुन्छ । पित्तथैलीको क्यान्सर भएमा शल्यक्रियाबाटै उपचार गरिने गरिन्छ । शल्यक्रिया सम्भव नभएमा केमोथेरापी पनि गरिन्छ ।

देवकोटाको पार्थिव शरिरलाई मंगलबार विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीको लागि न्यूरो अस्पतालमा राखिने पारिवारिक स्रोतले जनाएको छ।

२५ वर्ष वीर अस्पतालमा सेवा गरेका देवकोटाले नेपालमा न्यूरो सर्जरी सेवालाई विस्तार र विकास गर्न महत्वपूर्ण योगदान गरेका थिए। वीर अस्पतालमा पहिलो पटक न्यूरो सर्जरी विभाग स्थापना गर्ने श्रेय समेत देवकोटालाई जान्छ। उनी स्वास्थ्य मन्त्री हुँदा निकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नेम्सको स्थापना गरेका थिए। गोरखाको आँपपिपलमा जन्मिएका देवकोटा २०२६ सालको एसएलसीको वोर्डमा परेका थिए।