images
images

मेसी पेनाल्टीमा चुक्दा अर्जेन्टिना बराबरीमा रोकियो

मस्को :  चर्चित स्ट्राइकर लियोनल मेसीले पेनाल्टी सट मिस गरेपछि उपाधि दाबेदार अर्जेन्टिनाले विश्वकप फुटबलको आफ्नो पहिलो खेलमा आइसल्यान्डसँग अंक बाँडेको छ। समूह ‘डी’ अन्तर्गत शनिबार भएको पहिलो खेलमा अर्जेन्टिना आइसल्यान्डसँग १-१ गोलको बराबरीमा रोकियो। पहिलो हाफमै १-१ गोलको बराबरीमा सकिएको खेल दोस्रो हाफमा आइसल्यान्डले रक्षात्मक रणनीति अपनाएको थियो।

खेलको अन्तिमम्म अर्जेन्टिनालाई रोक्ने पक्षमा रहेको आइसल्यान्ड अन्ततः सफल बन्यो। पहिलो पटक विश्वकपमा सहभागिता जनाएको आइसल्यान्डले बलियो अर्जेन्टिनालाई रक्षात्मक खेल खेल्दै बलियो टक्कर दिएको हो। समूह डीको पहिलो खेलमा सुरुआती अग्रता अर्जेन्टिनाले नै लिएको थियो। १९ औं मिनेटमा सर्जियो एग्युरोले गोलगर्दै अर्जेन्टिनाको उत्साह बढाएका थिए। सर्जियोले डिबस्सभित्र आइसल्यान्डका पाँच रक्षकलाई छल्दै उत्कृष्ट गोल गरेका थिए।

तर, आइसल्यान्डले चारमिनेट लगत्तै अर्जेन्टिनाको कमोर रक्षापंक्तिको फाइदा उठाउँदै बराबरी गोल फर्काएको थियो। आइस्ल्यान्डका लागि २३ औं मिनेटमा अल्फ्रेड फिनबोगासनले गोल गरे।

बराबरी गोलपछि पूरै समय रक्षात्मक खेल खेलेको आइल्यासविरुद्ध अर्जेन्टिनाले ६४औं मिनेटमा पेनाल्टीको अवसर पायो। आइसल्यान्डका रक्षकले डिबक्सभित्र अर्जेन्टिनी स्टार मेसीलाई लाएपछि पाएको पेनाल्टीमा मेसी आफै चुके।

पहिलो चोटी विश्वकपमा सहभागिता जनाएको नवप्रवेशी टोली आइसल्याण्डले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो। खेलमा अर्जेन्टिनाले ७८ प्रतिशत बल नियन्त्रणमा राखेपनि गोल भने थप्न सकेन। अर्जेन्टिनाले प्रहार गरेका थुप्रै प्रहार गोल किपरले बचावट गराएका थिए।

मेसीको फितलो पेनाल्टी सुटलाई आइसल्यान्डका गोलरक्षकले सजिलै विफल पारेका थिए। त्यसपछि पनि मेसी लगातार गोलगर्न असफल रहे। मेसीले इन्जुरी समयमा डिबक्स छेउ पाएको फ्रिकिकमा समेत गोल गर्न नसकेपछि अर्जेन्टिना नवप्रवेशी आइसल्यान्डसँग अंक बाँड्न बाध्य बनेको हो।