काठमाण्डौ असार २, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकार गृह मन्त्रालयको गृह प्रशासन सुधार कार्ययोजना २०७४ बुँदा नम्बर ३७, एवं प्रहरी महानिरीक्षकका प्राथमिकताहरूको बुँदा नम्बर ६ मा समावेश भएको “नागरिक मैत्री प्रहरीको रुपमा छवी विस्तारमा तिव्रता’’ ल्याउन “टोलटोलमा प्रहरी अभियान” कार्यक्रमको नेपाल पुलिस क्लव भृकुटीमण्डपमा शनिबार आयोजित बिशेष समारोहबीच शुभारम्भ गर्नुभयो ।
प्रहरी महानिरीक्षक खनालले टोलटोलमा प्रहरी अभियान कार्यक्रम हरेक नागरिकको मन–मनमा प्रहरी बस्नुपर्छ भन्ने हो भन्नुहुदै सर्वसाधारणले प्रहरी हाम्रो लागि हो भनेर अनुभुत गर्न समाजका हरेक टोल–टोलमा प्रहरी पुग्नुपर्नेमा जोड दिनुभयो ।टोल–टोलमा खटिने प्रहरीले अपराध र अपराधीसंग कुनै सम्झौता नगरी नागरिक समाजप्रति प्रहरीको विश्वास बढाउदै लगिने समेत प्रहरी महानिरीक्षक खनालले बताउनुभयो ।
कार्यक्रममा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक डा.गोविन्द प्रसाद थापाले जनताको मनमनमा प्रहरी छ साथी भन्ने भावनाको विकास हुनुपर्नेमा जोडदिनुभयो । कार्यक्रममा गृह मन्त्रालयका सह–सचिव रामकृष्ण सुवेदीले अभियान सफल बनाउन प्रहरीले सीमित स्रोत साधनको अधिक्तम उपयोग गरी नागरिक समाजसँग मिलेर काम गर्नुपर्ने बताउनुभयो ।