बजेटमार्फत व्यक्तिगत लगानीकर्ताको पुँजीगत लाभकर बढाएको सरकारले एक माथि अर्को अप्रिय निर्णय गर्दा तल झर्दै गरेको शेयर बजारमा कारोबार रकम भने बढेको देखिनु अनौठो देखिएको छ| त्यसै पनि चलखेलको आधारमा चल्ने आरोप लाग्ने गरेको धितो पत्र बजारमा व्यक्तिगत तर्फको पुँजीगत लाभकर बढ्नु, संस्थागत तर्फको यथावत रहनु, पुँजीगत लाभकर गणना गर्दा चुक्ता मूल्यलाई आधार मान्नु पर्ने निर्देशन आउनु र उक्त निर्णयहरु तत्काल लागु गरिदा पनि कारोबार रकम बढ्नुले वास्तविक रुपमा लगानीकर्ता डराएका हुन् कि शेयर बजार गिराएर सस्तोमा शेयर किन्ने समुह सक्रिय भएका हुन् भन्ने कुरामा आशंका उत्पन्न भएको छ|
सरकारले आगामी बर्षको बजेटमार्फत ५ प्रतिशत रहेको व्यक्तिगत पुँजीगत लाभ करमा ५०% वृद्धि गरि ७.५ प्रतिशत पुर्याएको थियो| त्यसै गरि आन्तरिक राजस्व विभागले शुक्रबारै नेपाल स्टक एक्सचेन्जलाइ पत्र लेखि आइतबारदेखि नै लागु हुने गरि चुक्ता पुँजीको आधारमा उक्त कर लगाउन निर्देशन दिएको थियो| आधार मुल्यमा लाग्दै आएको कर चुक्ता मुल्यमा लाग्ने भएपछी हच्किएका सर्बसाधारण लगानीकर्ताले सस्तोमा शेयर बेचिरहेको मौकामा कौडीको भाउमा शेयर किन्ने दाउमा चलाख लगानीकर्ता सक्रिय भएको बुझ्न सकिन्छ|
साधारणतया तरकारी देखि हरेक चिज सस्तोमा पाए किन्ने गरेका सर्बसाधारण लगानीकर्ता शेयर बजारमा भने ठिक उल्टो शेयर बजार घट्न थाल्दा बेच्ने गर्छन्| जसले गर्दा घाटा खानु पर्ने अवस्था आउँछ| तर शेयर बजार बुझेका लगानीकर्ता घटेको बेला शेयर किन्ने र बढेको बेला बेच्ने गर्छन| जसले गर्दा सर्बसाधारण लगानीकर्ता सधै घाटामा पर्ने गर्छन भने अनुभवी लगानीकर्ताले संधै कमाउने गर्छन्|
अहिलेको शेयर बजारको क्रियाकलापलाइ अध्ययन गर्दा केहि समुह त्यतिकै पनि घटिरहेको शेयर बजारमा एक पछी अर्को अप्रिय निर्णय गराउंदै शेयर किन्ने कार्यमा संलग्न त छैन भन्ने शंका उत्पन्न भएको छ| तसर्थ सर्बसाधारण लगानीकर्ताले यस्तो चलखेलबाट सचेत भइ निर्णय लिनु पर्ने देखिन्छ|