काठमाण्डौ जेठ २०, नेपालको सबैभन्दा पुरानो वीर अस्पतालमा कलेजोको कडापन जाँच्ने अत्याधुनिक उपकरण ‘फाइब्रो स्क्यान’ मेसिन सञ्चालनमा ल्याइएको छ । रोटरी क्लब अफ राजधानी र रोटरी क्लब अफ काठमाडौंँ मेट्रोको सहयोगमा सो मेसिन सञ्चालनमा ल्याइएको हो ।
भारत चेन्नाईबाट आउनुभएका रोटरीयन सुशील गुप्ताले स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. गणेश गुरुङ्ग र वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतलाई उक्त मेसिन हस्तान्तरण गर्नुभएको थियो ।
वीर अस्पतालका निर्देशक डा. भुपेन्द्रकुमार बस्नेतले उक्त मेसिनले कलेजोमा हुने कडापनलाई सहजै पत्ता लगाउने जानकारी दिनुभयो । उहाँले सरकारी अस्पतालमध्ये ‘फाइब्रो स्क्यान’ मेसिन सञ्चालन गर्ने वीर अस्पताल पहिलो अस्पताल भएको बताउनुभयो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल)का उपकुलपति डा. गुरुङ्गले कलेजो रोगका कारण धेरै नागरिकको कलेजो बिग्रिएको भन्दै उहाँले फाइब्रो स्क्यान मेसिनबाट कलेजो बिग्रिएकाहरूका लागि शल्यक्रियाविनै कलेजोको कडापन थाहा पाउन सकिने बताउनुभयो ।
वीर अस्पताल लिभर युनिटका विभागीय प्रमुख डा. अनिलकुमार मिश्रले स्वस्थ कलेजोले हरेक सेकेन्ड पाँच हजार प्रकारका काम गरिरहेको जानकारी दिनुभयो । उहाँले हेपाटाइटिस ‘बी’ र ‘सी’, धुम्रपान तथा मद्यपानका कारण कलेजो क्रमिक मात्रामा कडा हुँदै जाने बताउनुभयो । कलेजो रोग विशेषज्ञ डा. दिलिप शर्माले कलेजो कडा भएमा पेटमा पानी जमेर फुल्ने, रगत बान्ता हुने, बेहोस हुने र हातखुट्टा सुन्निनेजस्ता समस्या देखा पर्ने बताउनुभयो । उहाँले वीर अस्पतालमा कलेजोको समस्या भएका बिरामी हरेक दिन १५ जनासम्म आउने गरेको जानकारी दिनुभयो ।