काठमाण्डौ जेष्ठ ६,गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सबै किसिमका सिन्डिकेट अन्त्य गर्ने गरी काम गर्न प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरुलाई निर्देशन दिएका छन् ।
आइतबार गृहमन्त्रीस्तरीय निर्णयबाट विभिन्न प्रदेशको प्रहरी प्रमुख, केन्द्रीय अनुसन्धान ब्युरोको प्रमुख तथा महानगरीय प्रहरी कार्यालयको निमित्त प्रमुखको जिम्मेवारी पाएका डीआईजीहरुलाई मन्त्रालयमा निर्देशन दिँदै गृहमन्त्रीले अब कुनै किसिमको सिन्ण्डिकेट सरकारले नस्वीकार्ने बताए ।
‘यतायात क्षेत्रको सिन्डिकेट अन्त्यको प्रक्रियामा छ । अब स्वास्थ्य, शिक्षादेखि तरकारीसम्मको सिन्डिकेट अन्त्य गर्न जरुरी छ’, उनले भने, ‘तपार्इँहरुले अब सम्हाल्ने कार्यक्षेत्रमा रहेका ती सबै किसिमका सिन्डिकेट हटाउनुहोस् । ’
उनले भ्रष्टचार र तस्करीलाई निस्तेज पार्ने गरी काम गर्न समेत प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन् । ‘गृहमन्त्रालयले तपाईहरुलाई विश्वास गरेर यो जिम्मेवारी दिएको छ’, उनले भने, ‘सबै जिम्मेवारी आफैँमा महत्वपूर्ण छन् । हाम्रो अपेक्षा र विश्वास तपाईहरुले पुरा गर्नुहुनेछ ।’
सरकारको लक्ष्य विकास र समृद्धि रहेको भन्दै त्यसका लागि सुशसान कायम गर्नु पहिलो शर्त रहेको गृहमन्त्रीको भनाई छ । ‘त्यो सुशासन कायम गर्ने प्रमुख जिम्मेवारी गृह मन्त्रालयको हो र त्यसमा पनि सुरक्षा निकायको प्रमुख जिम्मेवारी हो’। उनले थपे ।
प्राकृतिक स्रोत र साधनको दोहन भइरहेको भन्दै मन्त्री थापाले आफ्नो प्रदेशमा तत्काल त्यो रोक्न पनि प्रदेश प्रहरी प्रमुखलाई उनले निर्देशन दिए । यस्तै अशान्ति र अस्थिरता फैलाउनेविरुद्ध कडारुपमा प्रस्तुत हुन समेत प्रहरी अधिकारीहरुलाई उनले निर्देशन दिए ।
निर्देशनका क्रममा गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र गृहमन्त्रीका सल्लाहकार सूर्यप्रकाश सुवेदीको उपस्थिति थियो ।
स्रोत : अन्नपुर्णपोष्ट