काठमाण्डौ बैशाख २१, करिब हजारभन्दा बढी म्युजिक भिडियो निर्देशन र केही डकुमेन्ट्री बनाए पनि यादवकुमार भट्टराईसँग फिल्म निर्देशनको ज्ञान थिएन । आँट, हिम्मत र नयाँ केही गर्ने ऊर्जाले सफलता दिन्छ भनेझैँ उनले साहित्यकार कृष्ण धरावासीको चर्चित उपन्यास ‘झोला’माथि बनाएको फिल्मबाट सफलता पाए । स्वविवेकले बनाएको फिल्म ‘झोला’ वर्ष ०७१ को व्यावसायिक रूपमा सर्वोत्कृष्टमा प-यो । ‘ओस्कर अवार्ड’का लागि गयो । ‘झोला’बाटै भट्टराई सफल निर्देशकमा दरिए ।
चार वर्षपछि निर्देशक भट्टराई यथार्थपरक चलचित्र ‘भोर’ (अँध्यारोपछिको उज्यालो बिहानी) बोकेर आएका छन् । ‘झोला’मा सय वर्षअघिको समाजमा हुने महिला हिंसा देखाएका भट्टराईले ‘भोर’मा आजको समाजमा दाइजोको निहुँमा भइरहेको हिंसालाई पस्किएका छन् । निर्देशक भट्टराईले झोलादेखि भोरसम्मको अनुभव सुनाए ।
चर्चित कृति ‘झोला’माथि चलचित्र बनाउँछु भनेर लेखक कृष्ण धरावासीसँग सम्झौता भयो । चलचित्र विकास बोर्डमा दर्ता गरेँ, तर बनाइहाल्ने तयारी–योजना केही थिएन । केही वर्ष त्यसै बिते । कृतिका सर्जक धरावासीसँग पनि सम्पर्कमा थिइनँ ।
अचानक पत्रिकामा समाचार देखेँ, झोलामाथि चलचित्र बनाउन कृतिका सर्जक धरावासी र निर्देशक रमेश बुढाथोकीबीच सम्झौता भएछ । मैले त्यो सम्झौताको विरोध गरेँ । हामीबीच चर्को विवाद भयो । मसँग भएको सम्झौताको समयसीमा अझैं बाँकी थियो । त्यही समयसीमाभित्र बनाइसक्नुपर्ने सर्तसहित सर्जक धरावासीसँगको विवाद मिल्यो ।
बाध्यता आइलाग्यो । बल्लबल्ल लगानीकर्ता जुटाएँ । र, कलाकारको टिम बोकेर सुटिङमा निस्किएँ । इमानदारपूर्वक बनाएको थिएँ, चलचित्र व्यावसायिक रूपमा सफल पनि भयो ।
झोलाको सफलतापछि व्यक्तिगत रूपमा मलाई असाध्यै असहज अवस्था बन्यो । वास्तवमा झोला बनाउँदा मसँग निर्देशनको त्यति धेरै ज्ञान थिएन । त्यसैले झोलाकै टिम अर्को चलचित्र बनाउन हौसिँदा म भने अलमलमै थिएँ ।
झन्डै दुई वर्ष अलमलमै बित्यो । तैपनि, एउटा हास्यप्रधान कथा–पटकथा आफैँले लेखेर तयार भने पारेको थिएँ । बनाउने–नबनाउने अलमलमै थियौँ । मलाई थाहा छ, ‘फर्मुला फिल्म’ मैले ‘झुर’ नै बनाउँछु । त्यतातिर रुचि नै छैन । फेरि जबर्जस्ती गरेको काम राम्रो बन्दैन पनि ।
अलमलकै बीचमा साहित्यकार कृष्ण धरावासीले दृष्टिविहीनको कथा दिनुभयो । कथा बेजोड थियो । ‘यसैलाई फिल्म बनाउनुपर्छ,’ हामीले निधो ग-यौँ । ‘दिव्यदृष्टि’ नाम दिएर चलचित्र विकास बोर्डमा दर्ता ग¥यौँ । राज (तिमिल्सिना)जीसँग मिलेर स्थलगत खोज–अनुसन्धान गरेँ । स्क्रिप्ट लेखेँ । तर, त्यो चलचित्र बनाउने ‘कन्फिडेन्स’ आएन ।
‘दिव्यदृष्टि’को स्क्रिप्ट दसौँपटकसम्म परिमार्जन गरेँ । त्यहीबीचमा निर्देशक मनोज पण्डितलाई भेट्यौँ । उनले स्क्रिप्ट मन पराए । तर, स्क्रिप्टले दुईवटा कथा बोकेको भन्दै एउटा त्याग्नुपर्ने सुझाब दिए ।
‘दिव्यदृष्टि’मा दाइजोबाट पीडित क्यारेक्टरलाई पनि हामीले प्रयोग गरेका थियौँ ।
‘झोला’ हेर्दा सय वर्षअघिको समाजलाई हामीले गाली गरेका थियौँ, तर त्योभन्दा बीभत्स रूप आज हाम्रै समाजमा छन् । सतीप्रथामा त श्रीमान्को मृत्यु भएपछि मात्रै श्रीमान्सँगै डढ्नुपथ्र्यो, तर आज श्रीमान् आफैँले श्रीमती जलाइरहेका छन् ।
झोलामा हामीले सय वर्षअघिको समाजको महिला हिंसाबारे देखाएका थियौँ । अहिलेको समाजमा त्योभन्दा बीभत्स रूप छन् । राज्यले बर्जित गरिसकेको दाइजोप्रथा अझैं मधेसको मुख्य समस्या बनेको छ । दाइजो नदिएकै निहुँमा दिनहुँजसो अत्याचार, हिंसा र हत्याजस्ता जघन्य अपराध भइरहेका छन् ।
न्याय खोज्दै भाैँतारिएका परिवार विचलित भएका छन्, मानसिक रोगी बनेका छन् । छोरी जन्मिँदा अत्यन्तै पीडा हुन्छ, परिवारलाई छटपटी हुन्छ, आखिर किन त ? सबैभन्दा धेरै माया गर्ने र घर सम्हाल्ने महिला नै होइन र ! यस्तै कुराले मन बेचैनी बन्यो । अब मधेसकै महिला हिंसामाथि चलचित्र बनाउनुपर्छ भन्ने लाग्यो र ‘दिव्यदृष्टि’ त्यहीँ त्याग्यौँ ।
आजदेखि प्रदर्शन भईरहेको
‘भोर’को कथा पनि धरावासीले नै लेखिदिनुभयो । धनुषा, महोत्तरी, सिराहा र सप्तरीका केही गाउँ पुगेर त्यहाँका पीडितसँग कुरा ग-यौँ । १०–१२ वटा घटनाको अध्ययन ग-यौँ, तर कुनै पनि पीडितले न्याय पाएको हामीले सुनेनौँ । जानकी माताकै भूमिमा महिलामाथि यति धेरै हिंसा किन ?
जानकी माताप्रति अत्यन्तै ठूलो श्रद्धा छ । जानकी मातालाई पुज्छौँ, तर घरभित्रकै चेलीमाथि के व्यवहार गरिरहेका छौँ ? चलचित्रले सोच्न बाध्य बनाउँछ । त्यहाँ न्यायका लागि संघर्ष गर्नु भनेको जीवन नै त्याग्नुबराबर रहेछ ।
चलचित्रमा एक वर्षको कथा समेटेका छौँ । सुटिङकै अवधिमा पनि दाइजोकै निहुमा पटक–पटक गरी १२ चेलीको हत्या भएको समाचार सुनेँ । ती घटना सुनेपछि चलचित्र जीवन्त बनाउन थप मिहिनेत ग¥यौँ । प्रत्येक पात्रहरू जीवन्त राख्यौँ । मैथिली र नेपाली भाषाको प्रयोग ग-यौँ । मधेसकै स्थानीय कलाकारले मात्र चलचित्रमा अभिनय गरेका छन् ।
फिल्म हेरिसकेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यो फिल्म हेर्ने वातावरण राज्यले बनाउनुपर्छ, नगरपालिका र गाउँपालिकाले बजेटको व्यवस्था गरेर गाउँ–गाउँमा देखाउनुपर्छ भनेर प्रतिक्रिया नै दिनुभयो ।
हामीले जनकपुर, हेटौँडा, पोखरा, धरानलगायतका जिल्लामा विशेष प्रदर्शन ग-यौँ । सबैतिरबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छु । अहिले आएर नजानेरै पनि ठूलो काम गरेछौँ भन्ने अनुभूत भइरहेको छ ।
चलचित्रमा मधेसको सबभन्दा कमजोर पात्रलाई संघर्ष गराएका छौँ । दाइजोकै कारण छोरीको हत्या भएपछि न्यायका लागि लड्न नसक्दा बाबु मानसिक रूपमा कमजोर बन्छन् । त्यसपछि उनकी शारीरिक रूपमा अशक्त छोरी न्यायका लागि लड्छिन् ।
अन्यायविरुद्ध लड्दै जाँदा उनले जे संघर्ष गर्नुपर्छ र त्यसपछि जे उपलब्धि हात पर्छ, त्यही नै चलचित्र भोरको कथा हो । ७५ प्रतिशत सत्य घटना समावेश गरिएको चलचित्रको यो पक्षचाहिँ काल्पनिक हो । हामीले मधेसमा चाहेको समाज बिम्बका रूपमा प्रयोग गरेका छौँ ।
दाइजो लिएर कसैको पनि उन्नति भएको छैन । आज मधेसमा एउटा छोरा बिहे गर्न दाइजोको बार्गेनिङ गरिरहेको छ । त्यही पात्र भोलि आफ्नी छोरी बिहे गर्दा पीडित हुन्छ । मधेसमा दाइजो अपमान हो भन्ने बोध गराउन जरुरी छ । दाइजोविरुद्ध कानुन दह्र्रो बनाउन आवश्यक छ ।
‘झोला’ हेर्दा सय वर्षअघिको समाजलाई हामीले गाली गरेका थियौँ, तर त्योभन्दा बीभत्स रूप आज हाम्रै समाजमा छन् । सतीप्रथामा त श्रीमान्को मृत्यु भएपछि मात्रै श्रीमान्सँगै डढ्नुपथ्र्यो, तर आज श्रीमान् आफैँले श्रीमती जलाइरहेका छन् । अब हामीले आफूलाई गाली गर्ने कि नगर्ने ? त्यो लज्जाबोध हामीले गर्नैपर्छ ।
स्रोत : नयाँपत्रिका