images
images

लुम्बिनीमा बुद्ध जयन्ती मनाई रहदा,बुद्धको दरबार तिलाैराकोट छायाँमा

कपिलवस्तु जितपुर बैशाख १८, गौतम बुद्धले आफ्नो २९ वर्षीय युवा अवस्था बिताएको ठाउँ हो कपिलवस्तुको तिलौराकोट। बुद्धका पिता राजा शुद्धोधनको राजदरबार पनि हो तिलौराकोट। विश्व शान्तिका अग्रदूत तथा बौद्ध धर्मावलम्बीका आस्थाका केन्द्र बुद्धको जन्मजयन्ती सोमबार लुम्बिनीमा भव्य समारोह गरी मनाइयो। तर, नजिकै रहेको बुद्धभूमि कपिलवस्तु भने बुद्धजयन्तीको अवसरमा विगत वर्षझैं यस वर्ष पनि सुनसान रह्यो।

बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा हरेक वर्ष तामझामसाथ कार्यक्रम हुँदै आए पनि छिमेकी जिल्ला कपिलवस्तु सधैं उपेक्षित हुँदै आएको छ। बुद्धकी आमा मायादेवी आफ्नो माइतीघर देवदह जाँदै गर्दा बुद्ध लुम्बिनीमा जन्मिएका थिए। बुद्ध संयोगवश लुम्बिनीमा जन्मिए पनि बुद्धको बाल्य र युवाकाल कपिलवस्तुमा बितेको हो। यतिसम्म कि बुद्धले ध्यान र योग अभ्यास पनि कपिलवस्तुबाटै गरेका हुन्। तर, सरकारले हरेक वर्ष कपिलवस्तुलाई उपेक्षित गर्दै आएको स्थानीयको गुनासो छ।

लुम्बिनी पर्यटन प्रवद्र्धन समितिका सदस्य पोमनारायण पौडेल लुम्बिनी कपिलवस्तुबीच केही भ्रम रहेकाले कपिलवस्तु उपेक्षित हुँदै आएको बताउँछन्। ‘केन्द्रमा बसेर नीति बनाउने र कपिलवस्तुबारे यथार्थ नबुझ्नेबीच समस्या छ’, पौडेलले भने। उनका अनुसार कपिलवस्तु पछाडि पर्नुको तीन कारण छन्। कपिलवस्तुको विकासले रुपन्देहीलाई पछाडि पार्छ भन्ने आत्मकेन्द्रित चिन्तत हुनु, विदेशी पर्यटकका लागि सही सूचना अभाव र लुम्बिनी विकास कोषको नीतिगत हिसाबले पनि कपिलवस्तुको प्रवद्र्धन गर्ने कुरा बाधक हुनु कपिलवस्तु पछाडि पर्नुको जड हुन्।

लुम्बिनी विकास कोषले लुम्बिनीको विकास र प्रवद्र्धन गर्ने कुरामा जोड दिँदै आएको पौडेलको भनाइ छ। लुम्बिनीजस्तै कपिलवस्तुको बृहत्तर विकास गर्न कपिलवस्तु विकास कोष निर्माण गर्नुपर्ने उनी बताउँछन्। कपिलवस्तु संसारकै बौद्ध दर्शनको हिसाबले महत्वपूर्ण ठाउँ हुँदाहुदै पनि राज्यकै कारण पछाडि परेको उनको आरोप छ।

लुम्बिनीमा तामझामसाथ बुद्धजयन्ती मनाइरहँदा कपिलवस्तु सुनसान देखिनु दुःखद भएको सिद्धार्थ क्याम्पसका उपप्राध्यापक गोविन्द खनाल बताउँछन्। खनाल भन्छन्, ‘गौतमबुद्ध हुर्केको, ज्ञान प्राप्त गरेको, बुद्धत्व प्राप्त गरेको महत्वपूर्ण ठाउँ कपिलवस्तुलाई बिर्सेर बुद्ध जन्मिएको ठाउँलाई मात्र बढी जोड दिनु राम्रो होइन।’ लुम्बिनीको मात्र विकास गरेर बुद्धको प्रचारप्रसार नहुने भन्दै लुम्बिनीसँगै कपिलवस्तुमा रहेका बुद्धस्थलको पनि प्रचारप्रसार गर्नुपर्नेमा उनको जोड छ।

प्राचीन तिलौराकोट दरबार क्षेत्र, कुदान, निग्लिहवा, गोटिहवा, अरौराकोट, सिसहनियाजस्ता सयभन्दा धेरै बुद्धकालीन अति महत्वपूर्ण स्थल त्यहाँ रहे पनि पूर्वाधार विकास हुन सकेको छैन। राज्यले यस विषयमा ध्यान दिनुपर्ने उपप्राध्यापक खनाल बताउँछन्। अर्को उपप्राध्यापक सुन्दर पाण्डे पनि गौतम बुद्ध लुम्बिनीमा जन्मिनु संयोग मात्र भएको ठान्छन्। गौतमबुद्धले २९ वर्षीय बाल्य र युवाकाल बिताएको तिलौराकोट लुम्बिनीभन्दा धेरै अग्रगतिमा विकास हुनुपर्ने भए पनि केही नहुनु समग्र कपिलवस्तुको भन्दा पनि देशकै दुर्भाग्यको विषय भएको उनी ठान्छन्।

बुद्धका महत्वपूर्ण स्थल कपिलवस्तुमा भए पनि सम्बन्धित पक्षले प्रचार गर्न नसक्दा पछाडि परेको उनले बताए। रुपन्देहीमा लुम्बिनी हुनुले पनि विकासले तीव्रता पाएको उनको धारणा छ। ‘रुपन्देही राजनीतिक पहुँचमा धेरै अगाडि छ’, उनले भने, ‘अबको सरकारले कपिलवस्तुलाई पनि ध्यान दिनेछ भन्ने आशामा छौ।’ बुद्धजयन्तीको अवसरमा कपिलवस्तुमा पनि कार्यक्रम हुनुपर्नेमा जिल्लाबासीले जोड दिँदै आएका छन्।

बुद्धजयन्ती मनाउने पूर्ण जिम्मेवारी पाएको लुम्बिनी विकास कोषले कपिलवस्तुलाई ध्यान दिएको देखिँदैन। तर, यस वर्ष बुद्धजयन्तीको अवसरमा कोषले ५ लाख रुपैयाँ बजेट छुट्याएको कोषका सदस्य राजेश ज्ञवालीले बताए। कपिलवस्तुवासी ज्ञवालीले बुद्धजयन्तीको अवसरमा ५ लाख बजेटले बुद्धजयन्तीको अवसरमा स–साना कार्यक्रम आयोजना गरिएको बताए। पूर्वाधारको हिसाबमा पछाडि रहेकाले कपिलवस्तुमा ठूला कार्यक्रम गर्न नसकिएको उनले जनाए।

बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा कार्यक्रम भए पनि कपिलवस्तुमा भएका बुद्धस्थलको अवलोकन गराउने सम्मको वातावरण मिलाउन जिल्लाबासीको माग छ। लुम्बिनीमा आएका स्वदेशी तथा विदेशी पाहुनालाई कपिलवस्तु भ्रमण गराउन सके बुद्धस्थलको प्रचारप्रसार हुनेमा यहाँका बासिन्दा विश्वस्त छन्।

बुद्धको क्रीडास्थल तिलौराकोटमा २०१४ सालदेखि लगातार उत्खनन तथा अन्वेषण हुँदै आएको छ। लगातार पाँच वर्ष भएको उत्खनन तथा अन्वेषणले बुद्धकालीन समयका पुरातात्विक वस्तु फेला परेका छन्। त्यसले पनि आगामी दिनमा कपिलवस्तुको विकास हुनेमा यहाँका नागरिकमा आशा पलाएको छ। तिलौराकोटको अध्ययन, अनुसन्धान र अन्वेषणपछि प्राचीन तिलौराकोट बुद्धका पिता राजा शुद्धोधनको राजप्रसाद प्रमाणित भएको छ।

सन् १८९९ मा भारतीय पुरातत्वविद् पिसी मुखर्जीले उत्खननमा थप प्रमाण फेला पारेका थिए। नेपाल सरकार पुरातत्व विभाग र लुम्बिनी विकास कोषले कपिलवस्तुमा १ सय ४ पुरातात्विक स्थल रहेको प्रमाणित गरिसकेको छ।

स्रोत : अन्नपुर्णपोष्ट