ललितपुर बैशाख १६, रातो मच्छिन्द्रनाथको रथलाई चाःबहाल लगनखेलबाट जावलाखेलतर्फ लैजाने दिन तोक्ने विषय कतिको भरपर्दो होला ? दिन घडी पला यकीन गर्न सरकारी मान्यताप्राप्त पञ्चाङ्ग निर्णायक समितिको पहुँचबाहिर रहेकाले पनि साइत तोक्ने विषयमा यस्तो सम्भावना देखिने गरेको हो ।
योपल्ट जेठ महिनामा मलमास परेकाले मलमास सकेर रथयात्रा गर्नुपर्ने साइत आउँछ वा मलमासअघि नै आउँछ भन्ने विषयमा पाटनबासीको अहिले ठूलो खुल्दुली रहेको छ । मलमासपछिको साइत आउँदा मलमास समाप्त नहुञ्जेल रथयात्रामा काम गर्ने यँवाल, बाराही र बोसीलगायतलाई दैनिक खर्च बेहोर्नुपर्दा करिब थप ११ लाख रुपियाँको दायित्व गुठी संस्थानले बेहोर्नुपर्नेछ भने मलमासअगावै रथयात्रा भई भोटो देखाउने जात्रा पर्दा यो दायित्व संस्थानले बेहोर्नु पर्दैन ? गुठी संस्थान पाटन शाखा प्रमुख शैलेन्द्र पौडेलका अनुसार साइत कुन दिनका लागि तोकिने हो भन्ने कौतुहलतामा संस्थान छ र साइत तोक्ने विषय संस्थानको अधीनमा पनि छैन ।
जानकार स्रोतका अनुसार जात्रामा सहभागी हुने समुदायबाट मलमास सकिएपछिको यात्रा चाहेका छन् भने संस्थान कम खर्चका लागि पनि मलमासअगावै साइत आओस् भन्ने चाहनामा छ । पञ्चाङ्ग निर्णायक समितिका सदस्यसचिव सूर्य ढुङ्गेलका अनुसार मच्छिन्द्रनाथको रथयात्राको सुरु दिन समितिले तोक्छ, अन्यमा केही गर्दैन । सदस्यसचिव ढुङ्गेलका अनुसार परम्परागत रूपमा पाटनका चार जोशीले मिलेर साइत दिने प्रचलन थियो । अचेल त्यसमा दुई जना मात्र छन् र आपसमा विवाद गरिरहन्छन् । ज्योतिष परिषद्का अध्यक्ष डा. लोकराज पौडेलले पनि दुई पक्षको झगडाबीच भोटो देखाउने जात्राको साइत आउने गरेको बताउनुभएको छ ।
शाखा प्रमुख पौडेलका अनुसार ज्योतिषीले संस्थानले चाहेकै पक्षमा साइत तोक्ने सम्भावना पनि छ तर कतिपयले भने मलमासपछि भोटो देखाउने जात्रा पर्छ भन्ने आँकलन गरिरहेका छन् । तर, त्यो विषयमा साइत तोक्नेहरू भने केही बोल्न चाहेका छैनन् । शनिबार रथबाट नरिवल खसाएपछि रथमा काठको काम गर्ने बाराहीको देवाली गर्ने दिन र साइत तोक्ने र यसपछि मात्र चाःबहालबाट जावलाखेलमा रथ लैजाने दिन तोक्ने प्रचलन छ । रथ जावलाखेल आइपुगेको चौथो दिनमा राष्ट्रप्रमुखले दुनियाँसमक्ष भोटो प्रदर्शन गर्ने प्रचलन छ ।
स्रोत : गोरखापत्र