images
images

कपिलवस्तुलाई विश्वमाझ चिनाउने उद्देश्यका २५६२ औं अन्तर्राष्ट्रिय बुद्धजयन्ती मनाईयो

जितपुर बैशाख १४,२५६२औं अन्तर्राष्ट्रिय बुद्धजयन्तीको अवसर पारेर कपिलवस्तुमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । भगवान् गौतम बुद्धले २९ वर्षको युवावस्था बिताएको कपिलवस्तुलाई विश्वमाझ चिनाउने उद्देश्यका साथ बुद्धजयन्तीका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको हो ।

बुद्धजयन्ती मूल समारोह समिति कपिलवस्तुले वैशाख १२ देखि १८ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ । त्यसका लागि विभिन्न उपसमिति गठन गरिएको समिति संयोजक तथा लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले जानकारी दिए ।

विकास कोषको अग्रसरतामा बुधबार र बिहीबार जिल्लाका ७ वटै पुरातात्विक स्थल सरसफाइ गरिएको छ । यस्तै तौलिहवामा स्थानीयस्तरको क्रिकेट प्रतियोगितासमेत आयोजना गरिएको छ । बिहीबार नगर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको सदस्य ज्ञवालीले बताए । शुक्रबार चित्रकला प्रतियोगिता सञ्चालन गर्ने तयारी छ ।

फोटो पत्रकार संघ कपिलवस्तु र भिजुअल आर्टिस्ट गैंडाकोटको संयोजनमा दिवसकै अवसर पारेर सात वटै पुरातात्विक स्थल एवं नगर क्षेत्रभित्र दीप प्रज्वलन, बिरामीलाई फलफूल वितरण गरिने तथा तिलौराकोटमा बुद्ध चित्र प्रर्दशनी गरिने छ ।

स्थानीय विहार एवं बौद्ध मन्दिरमा बुद्धपूजा, बाल मन्दिरमा बाल ध्यान शिविर, भिक्षुलाई भोजनदान कार्यक्रम र १८ गते लुम्बिनीबाट बेबी बुद्धको ¥याली एवं शोभायात्रा ल्याई तिलौराकोटमा समापन गर्ने तयारी थालिएको मूल समारोह समिति सदस्य अमृत चन्द ठाकुरले बताए । यस पटक बुद्धजयन्ती मनाउन कोषबाट ५ लाख रुपैयाँ विनियोजित भएको लुम्बिनी विकास कोषका सदस्य ज्ञवालीले बताए ।

स्रोत : अन्नपुर्णपोष्टबाट