बुटवल बैशाख १३,सडक विस्तारका लागि एकैदिन बुटवल बजार क्षेत्रका ७० घरमा डोजर लगाएर भत्काइएका छन् । व्यापारिक मार्ग विस्तार आयोजनाले बुटवल नयाँबसपार्कदेखि दक्षिण राजमार्ग चौराहसम्मका ७० घर डोजर लगाएर भत्काएको हो ।
आयोजनाका इन्जिनियर योगेन्द्र अधिकारीले सडक क्षेत्रमा बनाइएका घरहरू भत्काउन पटक–पटक अनुरोध गर्दा पनि घरधनीले अटेर गरेपछि बुधबार प्रहरी प्रशासनको सहयोग लिएर डोजर लगाएको बताए । बेलहिया–बुटवल सडकखण्ड व्यापारिक मार्गका रूपमा विस्तार हुँदै छ ।
अधिकारीले सांकेतिक रूपमा डोजर लगाइएको र अब सडक विस्तार सहज हुने बताए । आयोजनाले सडक विस्तार गर्न लाग्दा व्यवसायी, संघ–संस्था तथा प्रमुख दलका स्थानीय नेताले समेत विरोध गर्दै आएका थिए । अब सडक विस्तारको कामले गति लिने आयोजनाका अधिकारीहरूको भनाइ छ ।
डोजर चलाएपछि घरधनीले आफैँ भत्काउन थाले
बुटवलको राजमार्ग चौराहादेखि मिलनचोक, ट्राफिकचोक, गोलपार्क हँुदै चिडिया खोलासम्मको सडक ६ लेन विस्तार गर्ने क्रममा तीन सयभन्दा बढी घर भत्काउनुपर्नेछ । आयोजनाले गत २१ चैतमा १५ दिनको समय दिएर घर भत्काउन सूचना जारी गरेको थियो ।
तर, तोकिएको समयमा घर भत्काउन लाग्दा व्यवसायीले सात दिनको म्याद थप मागेका थिए । सो म्याद सकिएपछि आयोजनाले डोजर चलाएको हो ।
डोजर चलाउन सुरु गरेपछि घरधनीले धमाधम घर भत्काउन लागेका छन् । आयोजनाले बुधबार भएको प्रगतिको समीक्षा गर्दै अरू काम अगाडि बढाउने भएको छ ।
४१ करोड लागत
सिद्धार्थ राजमार्गको सुरु विन्दु बेलहियादेखि बुटवल चौराहासम्मको २४ किलोमिटर सडकखण्डलाई ६ लेनमा बनाउने काम ०६९ देखि सुरु भएको थियो । पहिलो डिपिआरअनुसार विस्तार कार्यक्षेत्र २४ किमी भएकोमा ०७२ चैतमा अर्को विभागीय निर्णय गरी विस्तार भएको थियो ।
यस आयोजनाको कार्यक्षेत्र बुटवल चौराहादेखि गोलपार्क चिडियाखोलासम्म ३ दशमलव ५ किमि थप भएर २७ दशमलव ५ किमि कायम भएको छ । बुटवल क्षेत्रको सडक विस्तारका लागि ४१ करोड खर्च हुने अनुमान छ ।
हालसम्म बुटवलतर्फ ६ किमि, भैरहवातर्फ ५ दशमलव ९ किमि र भलबारीमा १ दशमलव १ किमि गरी जम्मा १३ किमि सडकखण्डको निर्माणकार्य सम्पन्न भएको इन्जिनियर अधिकारीले बताए । बुटवल चौराहादेखि गोलपार्कसम्म ३ सय २० वटा र बेलहियादेखि बाइपाससम्म ४४ वटा घर/टहरा हटाउनुपर्नेछ । दुवैतर्फका केही घर भने हटाइसकेको आयोजनाले जनाएको छ ।
सडक विस्तारको विपक्षमा सांसद
प्रदेश ५ प्रदेश सभाको बुधबारको बैठकमा घर भत्काउने विषय पनि उठेको छ । रुपन्देहीबाट प्रदेश सभा सदस्यमा निर्वाचित एमालेका भोजप्रसाद श्रेष्ठले बैठकमा सडक विस्तारको विपक्षमा मन्तव्य राखेका थिए । सडक विस्तार गर्दा घरहरू भत्काउनुपर्ने र यसले बजार कुरूप हुने भन्दै उनले घर भत्काउन नहुने बताए । उनले वैकल्पिक मार्ग बनाउनसमेत प्रस्ताव गरे ।
स्रोत : नयाँपत्रिकाबाट