बुटवल बैशाख ६,प्रदेश ५ सरकारले मुख्यमन्त्रीदेखि प्रदेश सांसदसम्मको पारिश्रमिक बारे बनेका विधेयक प्रदेश सभामा पेश पठाउने भएको छ । पारिश्रमिक विधेयकहरु बुधवारको मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको छ । स्वीकृत विधेयक अब प्रदेश संसदमा लगिनेछ । प्रदेश मन्त्रीपरिषदको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले बैठकले तीन वटा निर्णय गरेको बताए ।
यस्तो पारिश्रमिक प्रस्ताव
मन्त्रिपरिषद बैठकबाट स्विीकृत भएको विधेयकमा मुख्यमन्त्रीको पारिश्रमिक ६० हजार ९ सय ७० रुपैयाँ रहेको छ । सभामुखको ५३ हजार, मन्त्रीको ५२ हजार, उपसभामुखको ५० हजार, राज्यमन्त्रीको ४९ हजार, सहायक मन्त्रीको ४७ हजार प्रस्ताव गरिएको छ ।
त्यस्तै संसदमा राजनीतिक दलका प्रमुख सचेतकहरुको ४८ हजार र प्रदेश सदस्यहरुको ४५ हजार रुपैयाँ पारिश्रमिक पाउने प्रस्ताव गरिएको छ । मन्त्री गिरीका अनुसार पारिश्रमिकका अतिरिक्त अतिथि सत्कार, टेलिफोन तथा पत्रपत्रिकाका लागि समेत रकम तोकिएको छ ।
प्रदेश सचिवालय गठन गरिने
बुधवारको मन्त्रिपरिषद बैठकले प्रदेश सभा सचिवालय गठन गर्ने निर्णयसमेत गरेको छ । मन्त्री गिरीका अनुसार सचिवालय संयोजकमा सभामुख रहने छन् । त्यस्तै सदस्यहरुमा उपसभामुख र संसदका सचिव रहने छन् । सदस्य सचिवमा सचिबले बरिष्ठ अधिकारीलाई चयन गर्ने निर्णय गरिएको छ ।
स्रोत नयाँ पत्रिका