images
images

रियल २-१ गोलले बिजयी,जितसंगै अंकतालिकाको तेस्रो स्थानमा

काठमाण्डौ । फ्रान्सिस्को ‘इस्को’ अलार्कनको उत्कृष्ट प्रदर्शनमा रियल म्याड्रिडले स्पेनिस ला लिगा फुटबलमा महत्वपूर्ण जित हात पारेको छ । एक गोल गरेका इस्कोले अर्को गोलका लागि अवसरसमेत सिर्जना गरेपछि रियलले सोमबार बिहान भएको खेलमा लिगतालिकाको पुछारमा रहेको मालागामाथि २-१ को जित हात पारेको हो ।

यो जितसँगै रियल अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । रियलले भ्यालेन्सियालाई दुई अंकले पछि पारेको छ । यद्यपि रियल शीर्ष स्थानमा आसीन बार्सिलोनासँग अझै १५ अंक र दोस्रो स्थानमा आसीन एट्लेटिको म्याड्रिडसँग चार अंकले पछाडि छ । स्पेनिस ला लिगामा ३२ चरणको खेल सकिँदा शीर्ष स्थानको बार्सिलोनाको ८२, दोस्रो स्थानको एट्लेटिकोको ७१ र तेस्रो स्थानमा आसीन रियलको ६७ अंक छ ।

मालागाको घरेलु मैदानमा भएको खेलमा प्रशिक्षक जिनेदिन जिदानले आफ्ना महत्वपूर्ण खेलाडी क्रिस्टियानो रोनाल्डो, गारेथ बेल, लुका मोड्रिच र राफेल भारानालाई आराम दिएका थिए । यो सिजन युरोपियन च्याम्पियन्स लिग उपाधिको तयारीमा रहेका प्रशिक्षक जिदानले अर्काे साता बायर्न म्युनिखविरुद्ध उसकै मैदानमा हुने च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेग खेल खेल्दैछ ।

महत्वपूर्ण खेलाडीको अनुपस्थितिमा अग्रपंक्तिको जिम्मेवारी सम्हालेका इस्कोले खेलको २९औं मिनेटमा फ्रिकिक गोलमार्फत टोलीलाई १-० ले अघि बढाएका थिए । त्यसपछि करिम बेन्जेमासँगको उत्कृष्ट तालमेलमा इस्कोले नै मिलाइदिएको बललाई गोलमा परिणत गर्दै कासेमिरोले खेलको ६३औं मिनेटमा रियललाई २-० को अग्रता दिलाए । खेलको इन्जुरी समयमा डिएगो रोलानले मालागाका लागि गोल गरे पनि रियल २-१ ले विजयी भयो ।

annapurnapost