काठमाण्डौ । किङ्स ११ पञ्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) को रोमाञ्चक खेलमा आइतबार चेन्नई सुपर किङ्सलाई ४ रनले हराएको छ । १ सय ९८ रनको लक्ष्य पछ्याएको चेन्नाईले कप्तान महेन्द्र सिंह धोनीको उच्च प्रदर्शनका वावजुद २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रन बनाउन सक्यो ।
तेस्रो खेलमा पञ्जाबले दोस्रो जित हासिल गर्दा चेन्नईले तेस्रो खेलमा पहिलो हार आत्मसात गरेको छ । सनराइजर्स हैदरावाद ६ अंकसहित शीर्षस्थान छ भने चेन्नई, पन्जाब र राजस्थान रोयल्सको समान ४ अंक छ । धर्यतापूर्वक ब्याटिङ गरेका धोनीले अविजित रहँदै अर्धशतक मात्र पुरा गरेनन् टोलीलाई जितको नजिक सम्म पुर्याए, यद्दपी उनको प्रयास पर्याप्त रहेन ।
४४ बल खेलेका धोनीले ६ चौका ५ छक्काका साथ ७९ रन जोडे । रन आउट हुनुअघि अम्बाटी रायडुले ४९ रन जोडे ३५ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे । ओपनर शेन वाट्सनले र मुरली विजयले १२ रन जोडे । रविन्द्र जडेजाले १९ रन बनाए । पञ्जाबका एन्ड्रयू टेले २, मोहित शर्मा र रविचन्द्रन आविश्नले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले सामूहिक प्रदर्शनपछि २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९७ रन बनाएको थियो । पहिलो विकेटका लागि लोकेश राहुल र क्रिस गेलले ९६ रनको साझेदारी गर्दै टोलीलाई मजबुत सुरुआत दिलाएका थिए । गेलले आक्रमण खेल्दै अर्धशतक पुरा गरे । मात्र ३३ बलमा उनले ७ चौका र ४ छक्काको मद्दतमा ६३ बल जोडे ।
अर्का ओपनर लोकेशले २२ बलमा ७ चौकाका साथ ३७ रन बनाए । मयंक अग्रवालले १९ बलमा १ चौका र २ छक्कासहित ३० रन बनाए । त्यस्तै करुण नायरले १७ बलमा २ चौका र १ छक्कासहित २९, युवराज सिंहले १३ बलमा २ चौका र १ छक्कासहित २० रन थपे । कप्तान रविचन्द्रन आश्विनले १४ रन बनाए ।
चेन्नईका लागि सर्दुल ठाकुर र इमरान ताहिरले समान २, दीपक चाहर, हरभजन सिंह, सेन वाट्सन र ड्वान ब्राभोले समान १ विकेट लिए ।आइतबार नै भएको अर्को खेलमा राजस्थानले रोयल च्यालेन्जर्स बैंगलोरलाई १९ रनले हराएको थियो । आइपिएलमा सोमबार कोलकाता नाइट राइडर्स र दिल्ली डेयरडेभिल्सबीच प्रतिस्पर्धा हुनेछ ।
हाम्रो खेलकुदबाट