images
images

प्रदेश ५ सरकारले निति तथा कार्यक्रम ल्याउने तयारी गर्दै

बुटवल चैत ७,प्रदेश ५ को सरकारले नीति तथा कार्यक्रम बनाउने तयारी थालेको छ । चैतको तेस्रो साता सरकारी कार्यक्रम ल्याउने गरी सबै मन्त्रालय तयारीमा जुटेका छन् यो समाचार आजको नयां पत्रिकाबाट लिएका हौ । मुख्यमन्त्री शंकर पोखरेलले सबै मन्त्रालयलाई नीति तथा कार्यक्रम ल्याउन निर्देशन दिएपछि तयारी सुरु भएको हो । प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीका अनुसार मुख्यमन्त्री पोखरेलले सोमबार नियुक्त भएका तीन नयाँ मन्त्रीलाई पनि मंगलबारको बैठकमा विशेष निर्देशन दिएका छन्  ।

‘कुन शीर्षकमा खर्च गर्न उपयुक्त हुन्छ, कहाँ के काम भएका छन् सबै विवरण पेस गर्न मुख्यमन्त्रीले निर्देशन गर्नुभएको छ,’ प्रवक्ता चौधरीले भने, ‘सोहीअनुसार पुराना मन्त्रीहरूले काम सुरु गरिसकेका छन्, नयाँले पनि अब काम थाल्छन् । चैत मसान्तभित्रै बजेट प्रस्तुत गर्ने र त्यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ ।’

सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखबाट प्रस्तुत गर्ने प्रावधान छ । ३ फागुनमा गठन भएको तीन सदस्यीय मन्त्रिमण्डललाई मुख्यमन्त्रीले सोमबार विस्तार गरी ६ सदस्यीय बनाएका छन् । मन्त्रिपरिषद् विस्तार भएपछि मंगलबार प्रदेश सरकारको बैठक सम्पन्न भएको छ ।

आयोगको प्राथमिकता सन्तुलित विकास
प्रादेशिक योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले आयोगले आगामी सोमबारबाटै काम सुरु गर्ने बताए । काम सुरु गर्नुअघि आयोगले पूर्णता पाउने विश्वास व्यक्त गरे । चैतमा प्रस्तुत गर्न लागिएको बजेट तयारीमा आयोगले सहयोग गर्ने र आर्थिक वर्ष ०७५/७६ को बजेटको तयारीमा जुट्ने श्रेष्ठले बताए । सानो आकारको बजेटले प्रदेशमा सुरु भएको विकास निर्माणलाई व्यवस्थित गर्न जोड दिने श्रेष्ठले बताए ।

‘सानो बजेटबाट प्रदेशको काम गर्ने वातावरण बनाउनमा नै जोड दिन्छौँ,’ उनले भने, ‘अर्को बजेट एवं नीति तथा कार्यक्रमका लागि आयोगले गहन अध्ययन गरेर काम गर्नेछ ।’ तत्काल के गर्दा जनताले सरकार र विकासको अनुभूति पाउँछन्, त्यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्छौँ, प्रदेशको समग्र विकासका लागि प्रादेशिक विकास योजना बनाएर काम अगाडि बढाउँछौँ ।’ यसरी प्रदेशको सन्तुलित विकास गर्ने उनले बताए ।

प्रेस सल्लाहकारमा केसी
सोमबार मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा शेरबहादुर केसीलाई नियुक्त गरेको छ । केसी नेपाल पत्रकार महासंघ रुपन्देहीका निवर्तमान अध्यक्ष हुन् ।

यस्ता छन् प्राथमिकता
सरकारले चैतमा एक अर्ब २ करोडको बजेट ल्याउँदै छ । पारिश्रमिक तथा अन्य व्यवस्थापनका काममा बजेट विनियोजन गरी बचेको रकमबाट प्रदेशका योजना छनोट तथा डिपिआर निर्माण गर्ने तयारीमा सरकार छ । सरकारका प्रवक्ता बैजनाथ चौधरीले पहिलो प्राथमिकता सिद्धबाबा सडकको स्तरोन्नति रहेको बताए । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डअन्तर्गत सिद्धबाबा क्षेत्रको सडक अत्यन्तै जोखिमपूर्ण रहेको छ । यस सडकखण्डमा पहिरो जाने, सुक्खा मौसममा पनि ढुंगा खस्ने समस्या छ । यस क्षेत्रमा दुर्घटनाबाट बर्सेनि मानिसको मृत्यु हुने गरेको छ । अन्य महत्वपूर्ण आयोजनाको डिपिआरको तयारीमा पनि सरकार जुट्ने चौधरीको भनाइ छ ।

प्रादेशिक योजना आयोग गठन उपाध्यक्षमा श्रेष्ठ नियुक्त
प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रादेशिक योजना आयोग गठन गरेको छ । आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त भएका छन् । नेपाल राष्ट्र बैंकको निर्देशक श्रेष्ठलाई उपाध्यक्षको जिम्मेवारी दिइएको हो । सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीका अनुसार आयोगमा एक महिलासहित दुईजना थप हुने भएका छन् ।