म्याड्रिड (एजेन्सी) चैत ५, क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिडको जितमा ४ गोल गरेका छन्। घरेलु मैदानमा भएको ला लिगाको खेलमा रियलले जिरोनालाई ६-३ ले पराजित गरेको हो ।
रोनाल्डोले खेलको ११ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। टोनी क्रुसको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए। क्रिस्थिएन स्तुएनीले २९ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा बराबरी गरेका थिए।
दोस्रो हाफमा रोनाल्डोले थप तीन गोल गरे। ४७ र ६४ औं मिनेटमा गोल गर्दै उनले करियरको ५० ह्याट्रिक पुरा गरेका थिए। त्यसबीचमा लुकास भाजक्वेजले पनि रियलका लागि ५९ औं मिनेटमा गोल गरेका थिए। स्तुएनीले ६७ औं मिनेटमा भ्रमणकारी टोलीका लागि गोल गरेपनि ग्यारेथ बेलले ८६ औं मिनेटमा रियलको अग्रता थप बलियो बनाए। ८८ औं मिनेटमा जुअन्पेले जिरोनाका लागि गोल गर्दै ५-३ बनाएपनि खेलको इन्जुरी समयमा रोनाल्डोले व्यक्तिगत ४ तथा रियलको छैटौं गोल गरे।
रोनाल्डोले रियलका लागि ४४, पोर्चुगलका लागि ५ र म्यानचेस्टर युनाइटेडका लागि १ गर्दै ५० औं ह्याट्रिक पुर्याएका हुन्। उनको ला लिगामा यो ३४ औं ह्याट्रिक हो भने च्याम्पियन्स लिगमा ७, विश्व कप छनोट खेलमा ४, कोपा डेल रे’मा २ तथा प्रिमियर लिग, क्लब विश्व कपमा र युरोपियन च्याम्पियनसिपको छनोटमा समान १ ह्याट्रिक गरेका छन्।
यो जितसँगै रियल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। पहिलो स्थानमा बार्सिलोनाको ७५ अंक छ भने दोस्रोमा एथ्लेटिको म्याड्रिडको ६४ अंक छ भने समान २९ खेल खेलेको रियलको ६० अंक छ।