images
images

गौतमबुद्ध विमानस्थलमा एडीबीको टोलीले अनुगमन गर्ने

भैरहवा, फागुन २७,निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अवलोकनका लागि एसियाली विकास बैङ्कको टोली भैरहवा आउने भएको छ । मार्चको मध्यतिर एडीबीको टोलीले विमानस्थलको अनुगमन गर्ने बताइएको छ ।

सन्तोषजनक काम नभएको भन्दै जनवरीयता एडीबीले आफ्नो ऋण र अनुदान बन्द गरेको थियो । अनुगमनपछि मात्र पुनः मूल्याङ्कन हुने नहुने भन्ने थाहा हुने आयोजना प्रमुख ओम शर्माले बताउनुभयो । चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले अहिले कामदार बढाएर कामको गति बढाएको छ । चाहिने आवश्यक उपकरणसहित ५० चिनियाँ कामदार र डेढ सय नेपाली कामदार खटाई काम अघि बढेको आयोजना प्रमुख शर्माले जानकारी दिनुभयो ।
मधेस आन्दोलन, नाकाबन्दी, भूकम्प जस्ता कारणले लक्ष्यअनुसार काम गर्न नसकेको भन्दै ठेकेदार कम्पनीले म्याद थप गर्न आग्रह गरेको थियो । विमानस्थलको अहिले ३५ प्रतिशतभन्दा बढी काम सकिएको छ । अहिले प्रशासकीय भवन, कन्ट्रोल टावर, धावन मार्ग, अन्तर्राष्ट्रिय टर्मिनल भवनको काम भइरहेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ ।
एडीबीले ऋण र अनुदान नदिए पनि नागरिक उड्डयन प्राधिकरणले आफ्नै स्रोतबाट अघि बढाउने जनाएको छ । सन् २०१७ को अन्त्यसम्म निर्माण सम्पन्न हुने गरी विमानस्थलको काम सुरु भएको थियो । समयमै निर्माण हुन नसक्ने देखेपछि सरकारले सन् २०१८ मा सक्ने नयाँ लक्ष्य निर्धारण गरेको थियो ।