images
images

किन भेट्दै छन् किम र ट्रम्प ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ–उन मेमा भेट्दै छन् । उनीहरुको भेट निश्चित भएको समाचार आएसँगै विश्वमा तहल्का मच्चिएको छ ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा दक्षिण कोरियाका राष्ट्रीय सुरक्षा सल्लाहकार चुंग ईयू योंङले दिएको जानकारीअनुसार उनीहरुको भेटमा परमाणु बम र मिसाइल परीक्षणबारे चर्चा हुने छ। योङका अनुसार किमले ट्रम्पलाई परमाणु बमको परीक्षण नगर्ने बताइसकेका छन् ।

ट्रम्प र किम भेट्ने तय भइसकेको विषय बाहिर आएपछि अधिकांश विश्लेषकहरु अहिले अचम्ममा परेका छन् । उनीहरुले यसलाई एउटै शब्दको संज्ञा दिएका छन्– चलाखी । यस्तो किन भने केही महिना पहिलेसम्म यी दुईले एकअर्कालाई कडा शब्दमा टिप्पणी गर्थेँ ।

कतिसम्म भने ट्रम्पले किमलाई ‘छोटो’, ‘पुड्के’जस्ता शब्दहरुले सम्बोधन गरेका थिए । किमले पनि ट्रम्पलाई ‘पागल’ भन्ने शब्द प्रयोग गरेका थिए ।

केही दिनअघि दक्षिण कोरियाको एक उच्चस्तरीय प्रतिनिधिमन्डल उत्तर कोरिया गएको थियो । उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाबीचको यो स्तरको भेटघाट पनि पहिलो थियो । यही भेटघाटमा किम र ट्रम्पको भेटघाटबारे छलफल भएको र यसबारे दक्षिण कोरियाले सहजीकरण गरेको अनुमान छ ।

उता, जापानी प्रधानमन्त्री शिन्जो अबेले किमको यो चलाखीमात्र भएको संज्ञा दिएका छन् । उनले जापानी सांसद्सँग किमले यो केही समय भुलाउन बनाएको योजना हुनसक्ने संज्ञा दिएका हुन् ।

त्यसो त अहिले राष्ट्रपति ट्रम्प निकै आलोचित छन् । उनीमाथि अमेरिकी मिडियामा नकारात्मक टिप्पणी आउने क्रम बढ्दो छ ।

त्यसैले केहीले भनेका छन्– ट्रम्पले यो भेटको विषय अहिले बाहिर ल्याउनुमा उनको स्वार्थ लुकेको छ, उनी अमेरिकी मिडियाको विषयलाई परिवर्तन गर्न चाहन्छन् ।

यो भनाईलाई प्रमाणित गर्न उनीहरुले पूर्वराष्ट्रपति बिल क्लिन्टनको प्रसङ्ग उठाएका छन् । जसरी क्लिन्टनले मोनिका लेविंस्कीसँगको प्रसंग बदल्न सूडानको एक उद्योगमा आक्रमण गराएका थिए, त्यसैगरि एक पोर्नस्टारसँग आफ्नो नाम जोडिएकाले ट्रम्प मिडियामा नयाँ विषय उठाउन खोजिरहेका छन् । फलस्वरुपः ट्रम्प र किमको भेटघाटको विषय अहिले चर्किएको हो भन्नेहरु पनि छन् ।

अमेरिकी विश्वविद्यालय डेलावेयरका प्रोफेसर मुक्तदर खान पनि यही उदाहरणसँग नजिक छन् । उनी ट्रम्प र किमको भेट भएमा दक्षिण कोरिया र उत्तर कोरियाको जित हुने संज्ञा दिन्छन् । उत्तर कोरियालाई दक्षिण कोरियाले आर्थिक सहयोग गर्ने आश्वासन दिएकाले पनि यस्तो सम्भावना सुरुवात भएको हुनसक्ने उनको धारणा छ ।

–एजेन्सी