बुटवल फाल्गुन २५,नारायणगढ-बुटवल सडकखण्ड निर्माणका लागि एशियाली बिकास बैंक (एडीबी) ले भारतीय कम्पनी जेपी इन्फ्रालाई अयोग्य ठहर्याएको छ । अहिले भइरहेको प्रक्रिया नै रद्द गरेर नयाँ टेण्डर प्रक्रियाअघि बढाउन एडीबीले सडक विभागलाई स्वीकृति दिएको छ ।
प्राविधिक मूल्यांकनमा पास भएर आर्थिक मूल्यांकनका क्रममा रहेका बेलामा जेपी इन्फ्राको भागिनी कम्पनी जय प्रकाश एसोसियट्सलाई भारतको उच्च अदालतले २० अर्ब रकम बैंकमा डिपोजिट गर्न निर्देशन दिएको थियो । जेपी एसोसियट्सको कम्पनी जेपी इन्फ्राले समयमा बैंकको ऋण तिर्न नसकेपछि बैंकहरु केही समयअघि यसलाई इन्सल्भेन्सीमा लान आग्रह गर्दै सम्बद्ध निकायहरुमा पुगेका थिए ।
यसपछि एडीबीले जेपी एसोसियट्सका बारेमा थप स्पष्ट पार भनेर पत्र सडक विभागलाई पत्र लेखेेको थियो । तर अहिले एडीबीले यसको अहिलेको सबै प्रक्रिया रद्द गरेर नयाँ प्रक्रिया थाल्नु भन्दै पत्र पठाएको सडक विभागको एसियन बिकास बैंक आयोजना निर्देशनालयका इन्जिनियर सरोज कुमार प्रधान बताउँछन् ।
एडीबीको यस्तो पत्र आएपछि विभागले अहिले रिटेन्डरका लागि प्रक्रिया अघि बढाउन लागेको छ । पुनः टेन्डर गर्नका लागि विभागले अहिले एडीबीसँग स्वीकृति लिँदैछ ।
प्रधानले भने, ‘रि टेन्डरको लागि पनि एडीबीबाट स्वीकृति लिनपर्ने हुन्छ, त्यसैले हामीले त्यसको प्रक्रिया अघि बढाउन लागेका छौं , केही दिनमा नै रि टेन्डर खोल्ने गरि प्रक्रिया अघि बढाएका छौं ।’ जेपीको भागीनी कम्पनी समस्यामा परेपछि एडीबीले यसको प्रक्रिया लामो समय रोकेर राखेको थियो ।
विभागका अनुसार यसअघि नै यो सडक खण्डकोे विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । र, विस्तृत इन्जिनियरिङ सर्भेको काम पनि सकिएको छ ।
अहिले नारायणगढ बुटवल सडकखण्ड दुई लेनको छ । जसलाई विभागले ४ लेनको बनाउन लागेका हो । जसका लागि विभागले एडीबीबाट ऋण सहयोग लिन लागेको छ । यसअघि विभागले यो सडकखण्ड चार लेनको बनाउन लागि झण्डै १६ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको थियो ।
यही जेपी इन्फ्रा कम्पनीका कारण देशका दुई ठूला आयोजनामा समस्यामा परेका छन् । यही कम्पनीले ४० मेगावाटको राहुँघाट जलविद्युत आयोजनाको पनि जिम्मा लिएको छ । यो आयोजना भारतीय बैंकको ऋण सहयोगमा बन्न लागेको आयोजना हो । तर भारतीय एक्जीम बैंकले नै आफ्नै देशको कम्पनीलाई स्वीकृति दिएको छैन । जसका कारण आयोजनाको काम अघि बढ्न सकेको छैन ।
त्यसैगरी तनहुँ हाइड्रोमा पनि यसले निर्माणका लागि आवेदन दिएको थियो । प्राविधिक मूल्यांकनकै क्रममा यो कम्पनीको बारेमा नकारात्मक समाचार आएपछि एडीबीले यसमा पनि लामो समय रोेकेर राख्यो । तर, अहिले भने एडीबीले यो कम्पनीलाई प्राविधिक रुपमा अयोग्य ठहराएर अन्य कम्पनीको आर्थिक मूल्यांकनका लागि स्वीकृति दिएको छ ।
कस्तो बन्दैछ नारायणगढ- बुटवल सडकखण्ड ?
दुई लेनको यो सडकलाई चार लेनको बनाइने छ भने दुई /दुई लेनको बीचको भाग ‘ग्रीनरी’लागि खाली ठाउँ छोडिनेछ । तीन मिटरको यो भागमा बिरुवा रोपिने छ । विस्तारित सडक दुईतर्फ नै ७/७ मिटरको हुनेछ । एउटा लेन ३.५ मिटरको हुने विभाग बताउँछ ।
यो सडकखण्डको छेउमा रहेका वस्तीहरुका लागि ‘सर्भिस लेन’ निर्माण गर्ने विभागको तयारी छ । सर्भिस लेन भनेको सार्वजनिक सवारीले यात्रु ओराल्न र चढाउन प्रयोग गर्ने बस्ती क्षेत्रको सडकको हो । २८ किलोमिटर सडकमा यस्तो सर्भिस लेन रहने र यो ७ मिटरको हुनेछ ।
अनलाईनखबरबाट