बार्सिलोना (एजेन्सी), फाल्गुण १३:- गए राति स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले जिरोनालाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ । बार्सिलोनाको जितमा लुइस स्वारेजले ह्याट्रिक गरे भने लियोनल मेस्सीले दुई गोल गरे ।
बार्सिलोनाको घरेलु मैदानमा खेलिएको सो खेलमा जिरोनाले आश्चर्यजनक अग्रता लिएको थियो । पाहुना टोलीका लागि तेस्रो मिनेटमा पोर्टुले गोल गरे । तर त्यसको दुई मिनेटमै मेस्सीको पासमा स्वारेजले गोल गर्दै खेल बराबरी पारे ।
बार्सिलोना पहिलो हाफमा थप तीन गोल गर्न सफल रह्यो । मेस्सीले खेलको ३० औं तथा ३६ औं मिनेटमा सुन्दर फ्रि-किक गोल गरे भने स्वारेजले खेलको ४४ औं मिनेटमा गोल गर्दै स्कोर ४-१ बनाएका थिए ।
खेलको ६६ औं मिनेटमा फिलिप कौटिन्होले बक्सबाहिरबाट आकर्षक गोल गरे भने ७६ औं मिनेटमा स्वारेजले पुन: गोल गर्दै आफ्नो ह्याट्रिक र बार्सिलोनाको फराकिलो जित सुनिश्चित गरे ।
यस जितसँगै बार्सिलोनाको २५ खेलमा ६५ अंक रहेको छ । दोस्रोमा रहेको एट्लेटिको म्याड्रिडको २४ खेलबाट ५५ अंक रहेको छ भने तेस्रो स्थानमा रहेको रियल म्याड्रिडको २५ खेलमा ५१ अंक रहेको छ ।