images
images

किन लापर्वाहि हुदैछ माथिल्लो तामाकोसिमा ?

काठमाडौं, फाल्गुण ७:- माथिल्लो तामाकोसी (४५६ मेगावाट) जलविद्युत् आयोजनाको हाइड्रोमेकानिकल लटको ठेकेदारले विभिन्न बहाना बनाउँदै समयमा काम नगर्दा आयोजनै समयमा सम्पन्न नहुने जोखिम बढेको छ।

ठेकेदार टेक्सम्याके रेल एण्ड इन्जिनियरिङले ६ महिनाअघि नै जडान गरिसक्नुपर्ने हाइड्रो मेकानिकल अन्तर्गत लट नं. २ अन्तर्गत स्टील पाइप तथा स्टील गेटलगायतका संरचना अझै आयोजनास्थलसम्म पुर्‍याएको छैन। ठेक्का सम्झौता अनुसार ठेकेदारले २०७२ वैशाखमै सम्पूर्ण जडान कार्य पूरा गरिसक्नुपर्ने थियो।

आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठका अनुसार ठेकेदारले आधा सामान सुनकोसी र आधा वीरगञ्जसम्म ल्याइपुर्‍याएको जानकारी दिएको छ। उसले यो लट अन्तर्गतका सबै सामान आगामी वर्षायामअघि अर्थात् वैशाख अन्त्यसम्ममा ओसारिसक्ने प्रतिबद्धता जनाएको श्रेष्ठले बताए। ठेकेदारले गरेको प्रतिबद्धता अनुसार काम भए मात्र आगामी आठ महिनाभित्र यी संरचना ढुवानी तथा जडान हुन सक्छ।

सुरुदेखि नै आयोजनाले यो लटको भारतीय ठेकेदारलाई ताकेता गर्दै आइरहे पनि उसले विभिन्न बहानाबाजी गरी ढिलाई गरिरहेको उल्लेख गर्दै आयोजना प्रमुख श्रेष्ठले आइतबार अन्नपूर्णसित भने, ‘अरु सबै लटका काम सन्तोषजनक रुपमा भइरहेको छ, योचाहिं (हाइड्रोमेकानिकल) निर्धारित समयमा पूरा नगर्ला कि भन्ने जोखिम छ।’

गत २०७२ वैशाख १२ र २९ गतेको भूकम्प तथा भारतीय नाकाबन्दीका कारण आयोजना निर्माण सम्पन्न हुने पूर्वनिर्धारित समयमा दुई वर्ष पर धकेलिएको माथिल्लो तामाकोसी अरु लट पूरा भए पनि हाइड्रो मेकानिकल चुनौतिपूर्ण रहेको श्रेष्ठले बताए।

पछिल्लो संशोधित तालिका अनुसार माथिल्लो तामाकोसी आगामी २०७५ चैतभित्र पूर्ण रुपमा व्यावासयिक उत्पादन सुरु गर्नेछ। तर ठेकेदार टेक्सम्याकोले विगतमा पनि आलटाल गर्दै काममा गम्भीरता नदेखाएका कारण आयोजना ढुक्क हुन सकेको छैन। ‘हाम्रो आशंका सत्य भएमा तामाकोसीको उत्पादन तीन, चार महिना थप ढीला हुन सक्छ,’ श्रेष्ठले भने।

ठेक्कापट्टाका बेला अन्तिम वित्तीय प्रस्तावमा एकल प्रतिस्पर्धी रहेको टेक्सम्याको सुरुदेखि नै गतिलो काम नगरेको छनक आयोजनालाई दिइसकेको थियो। ‘सुरुदेखि नै यसको काम चित्तबुभ्mदो नभेटिएपछि हामीले ताकेता गर्दै आइरहेका थियौं,’ श्रेष्ठले भने।

एक करोड ५ लाख यूरो र २९ करोड २० लाख नेपाली रुपैयाँमा ठेक्का पाएको टेक्सम्याकले सम्झौता अनुसार २०७२ वैशाखमै आप्mना सम्पूर्ण काम पूरा गरिसक्नुपर्ने थियो। भूकम्पअघि नै पूरा हुनुपर्ने यी संरचना जडानमा आलटाल गर्दै आएको ठेकेदारले भूकम्प र नाकाबन्दीलाई पनि बहाना बनाउन पाएको थियो।

अन्तर्राष्ट्रिय बजारमा समेत गतिलो छवि नभएको यो ठेकेदारको व्यवस्थापकीय कमजोरीका कारण काममा ढिलाई भएको आयोजनाको भोगाई छ। यसको ठेक्का हुँदा अन्तर्राष्ट्रिय स्तरका एन्ड्रिज हाइड्रो र नोयलजस्ता कम्पनी सहभागी थिए। तर पछि वित्तीय प्रस्ताव हाल्ने बेलामा यी दुवै कम्पनीले चासो नदेखाए पछि एकल प्रस्ताव परेको टेक्सम्याकले ठेक्का पाएको थियो।

आयोजना प्रमुख श्रेष्ठका अनुसार आगामी नोभेम्बरसम्ममा सुरुङमा पानी छाड्ने र क्रमशः परीक्षण उत्पादन गर्दै २०७५ सम्ममा सबै युनिटबाट बिजुली उत्पादन गरिसक्ने योजना छ। हालसम्म आयोजनामा ३६ अर्ब रुपैयाँ खर्च भएको छ।

भूकम्प र नाकाबन्दीका कारण दुई वर्ष पर धकेलिए पनि बिजुली उत्पादन प्रक्रियामा भने थप एक वर्ष असर परेको थियो। आयोजनाको पछिल्लो संशोधित लागत अनुसार करिब ४६ अर्ब रुपैयाँ छ। यसमा करिब १५ अर्ब रुपैयाँ ब्याजसमेत जोड्दा यसको वित्तीय लागत ६१ अर्ब रुपैयाँ हुने अनुमान छ। आयोजना ढिला हुँदा प्रत्यक्ष खर्च, बीमा प्रिमियम, मूल्य वृद्धि, विदेशी मुद्रामा भएको विनिमिय दर वृद्धि, लगायतका कारण लागत बढ्न पुगेको हो। २०६७ भदौ देखि सुरु भएको आयोजना सुरु हुँदा एक अमेरिकी डलर बराबर ८० रुपैयाँ थियो। हाल सय रुपैयाँभन्दा बढी छ।

श्रेष्ठका अनुसार आयोजनाको समग्र काम ९३ प्रतिशत पूरा भएको छ भने सबैभन्दा जटिल संरचना साढे १६ किलोमिटर सुरुङ खन्ने काम पूरा भएको छ। दोलखाको लामाबगरमा मुहान र गोंगरमा विद्युत्गृह रहेको माथिल्लो तामाकोसी स्वदेशी लगानीमा निर्माण भइरहेको देशकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो। यसमा विद्युत् प्राधिकरण, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बीमा संस्थान, आयोजनास्थल दोलखाका स्थानीय वासिन्दा लगायतको शेयर छ। राष्ट्रिय गौरवको यो आयोजना निर्माण भएपछि यसले हरेक वर्ष सय मेगावाटभन्दा बढी क्षमताको आयोजना निर्माण गर्न सक्ने पुँजी परिचालन गर्ने क्षमता राख्छ।