वासिङटन, फाल्गुन ६:- गतवर्ष भएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा भएको भनिएको हस्तक्षेपमा रूसी नागरिकको हात रहेको आरोप अमेरिकाले लगाएको छ । अमेरिकामा यस विषयमा विशेष अनुसन्धान भइरहेको बताइएको थियो । अनुसन्धानकर्ताहरूले रूसी नागरिकको हस्तक्षेप निर्वाचनमा देखिएको अनुसन्धानबाट खुलेको बताएका छन् । एकजना रूसी व्यापारीसहित १३ जना रूसी नागरिकमाथि यो आरोप लगाएको छ ।
सन् २०१६ को राष्ट्रपतीय चुनावमा रूसको हस्तक्षेप रहेको भनी यसअघि नै आलोचना भएको थियो । उक्त अभियोग लागेका व्यक्तिहरूमाथिको अनुसन्धानमा यस्तो देखिएको अमेरिकी अनुसन्धाताले जानकारी दिएका छन् । उक्त निर्वाचनमा रूसको एक इन्टरनेट समूह ‘ट्रोल फार्म’ को हात रहेको पाइएको अमेरिकाको भनाइ छ । इन्टरनेट एजेन्सीसँग सम्बद्ध समूहका ती १३ जनाले राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको जितको सम्भावना भनेर देशव्यापी सर्वेक्षण गरी त्यसको परिणाम आमसञ्चारमाध्यममार्फत देशव्यापी बनाएका थिए ।
उक्त तथ्य अमेरिकी अनुसन्धाताले शुक्रबार सार्वजनिक गरेका हुन् । ट्रम्पको विजयको सम्भावना बढाउने उद्देश्यले जनमतलाई नै प्रभावित पार्ने गरी ठूलो मात्रामा सामग्री पनि अनलाइन मिडियामा राखिएको पनि अमेरिकाको आरोप छ । यसरी चुनाव प्रभाव पार्ने गरी काम गरेको भनिएको रूसी नागरिकको उक्त सूचीमा क्रेमलिनसँग निकट रहेका व्यापारी युभगेन प्रिगोजिन पनि परेका छन् । रूस सरकार र ती व्यापारीले अमेरिकी निर्वाचनमा यस्तो संलग्नता अस्वीकार गरेका छन् । ती आरोपबाट ट्रम्पको चुनावी अभियानमा रूसको साँठगाँठ रहेको देखाउँदैन ।
चुनावी अभियानका क्रममा कुनै गलत काम नभएको भन्दै राष्ट्रपति ट्रम्पले बारम्बार यो अस्वीकार गर्दै आएका छन् । अमेरिकाको डेमोक्र्याटिक पार्टीकी नेतृ नान्सी पेलोसीले भने ती अभियोगहरू अमेरिकाको पछिल्लो अनुसन्धानबाट थप पुष्टि भएका बताएकी छन् । सन् २०१६ को चुनावमा रूसले हस्तक्षेप गरेको भन्ने विषयमा अनुसन्धान भएको हो र त्यो अहिले आएर स्पष्ट भएको उनको दाबी छ । रूसी विदेश मन्त्रालयका प्रवक्ताले भने रूसले हस्तक्षेप गरेको भन्ने आरोपमा कुनै पनि सत्यता नरहेको बताएका छन् ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रूसको कुनै प्रभाव नभएको बताएका छन् । अमेरिकाका विशेष काउन्सलर रोबर्ट मुलरको कार्यालयले शुक्रबार १३ नागरिक र तीनवटा कम्पनीलाई यस विषयमा दोषी ठहराएको थियो । त्यसको प्रतिक्रियामा ट्रम्पको यस्तो भनाइ आएको हो । उनीहरूले सामाजिक सञ्जालमा दुष्प्रचार गरेर सन् २०१६ मा सम्पन्न अमेरिकी राष्ट्रपतिको निर्वाचनमा हस्तक्षेप गरेको आरोप लगाइएको छ ।
रूसले यस्तो अभियान केही वर्ष पहिलेदेखि शुरु गरेको थियो । हिलारी क्लिन्टन अमेरिकी विदेशमन्त्री हुँदा रूससँग उनको भनाभन भएको थियो । यसको बदला लिन रूसी ह्याकरले सन् २०१४ देखि हिलारीविरोधी अभियान थालेका थिए । यो घटनामा आफ्नो कुनै सम्बन्ध नरहेको ट्रम्पको भनाइ छ । आफूले राष्ट्रपति निर्वाचनका लागि रूससँग कुनै साँठगाँठ नगरेको उनले स्पष्ट पारेका छन् । ट्रम्पले यस्तो अफवाहविरुद्ध एकजुट हुन अमेरिकी जनतालाई आग्रह गरेका छन् ।