images
images

उच्च शिक्षा निःशुल्क

पलाता, माघ २७:- पलाता गाउँपालिकाले पालिकाभित्रका सबै उच्च माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीसँग कुनै पनि शुल्क नलिने जनाएको छ । गाउँपालिकाले शुक्रबार आयोजित कार्यक्रममार्फत गाउँपालिकालाई उच्च शिक्षा निःशुल्क क्षेत्रसमेत घोषणा गरेको छ ।

यसअघि स्थानीय शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक शुल्कलगायत विभिन्न नाममा उच्च माविहरूले शुल्क लिँदै आएका थिए । विद्यालयमा चर्को शुल्क लिने गरेका विद्यालयले अबदेखि विद्यार्थीबाट कुनै पनि शुल्क लिए कारबाही गर्ने गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले बताए ।

निजी स्रोतबाट सञ्चालित उच्च माध्यमिक विद्यालयमा शिक्षक कर्मचारी र आवश्यक व्यवस्थापनको जिम्मा पूर्ण रूपमा गाउँपालिकाले लिने निर्णय भएकाले अब विद्यालयमा कुनै पनि शुल्क लिन नपाइने उनको भनाइ छ ।

गाउँपालिकाभित्र रहेका चार उच्च माध्यमिक विद्यालयलाई प्रतिविद्यालय एक आर्थिक वर्षमा सात लाखदेखि नौ लाखसम्म बजेट दिने गाउँपालिकाले निर्णय गरेको अध्यक्ष बमको भनाइ छ । शिक्षामा गाउँपालिकाले लगानी गर्ने नीति लिएसँगै अब सरकारले घोषणा गरेको उच्च शिक्षा निःशुल्कको अवधारणा पलाता गाउँपालिकाबाट सुरु हुने भएको छ ।

गाउँपालिकाभित्र रहेका अन्य निजी स्रोतका विद्यालयमा रहेका विद्यालयमा आवश्यक अस्थायी दरबन्दी सिर्जना गरेर शिक्षा क्षेत्रको विकासमा गाउँपालिका लागेको बमको भनाइ छ । गाउँपालिकाले आफ्नो पालिकाभित्रको शिक्षा क्षेत्रको सुधारका लागि चालू आवमा एक करोड २० लाख बजेट विनियोजन गरेको अध्यक्ष बमको भनाइ छ ।