हुम्ला, माघ २७:- कुनै समय सौखका रूपमा पालिने चौँरी पछिल्लो समय आम्दानीको राम्रो स्रोत बन्न थालेपछि यसतर्फ किसान आर्कषित हुन थालेका छन् । फार्मको रूप दिएर चौँरी पालन गर्दा अझ राम्रो हुन थालेपछि यसको आकर्षण अरू बढेको छ । हिमाली परियोजनाको अनुदानमा २७ वटा चौँरी पाउनु भएका पशुपालक चाङला चौँरी फार्मका सञ्चालक विजय लामाले वार्षिक दुईदेखि आठ लाख रुपियाँसम्म कमाउन थालेपछि यस पेसामा किसानको आर्कषण बढ्दै आएको छ ।
उहाँले फार्म विस्तार गरी हाल ५५ वटा चौरी पाल्नु भएको छ । बाउ बाजेले रहरका लागि एक दुईवटा चौँरी पाल्ने गरेको भए पनि हुम्लामा यसरी पछिल्ला समयमा फार्मकै रूपमा धेरै चौँरी पाल्ने किसान लामा नै हुनुहुन्छ ।
उहाँले घिउ तथा छुर्पी बिक्री गरेर यस वर्ष वार्षिक कमाइ आठ लाख रुपियाँ भएको उहाँले बताउनुभयो । फार्ममा तीन जनालाई रोजगारी पनि दिएको उहाँले बताउनुभयो । दुई वर्ष अगाडिसम्म चौँरी पालन लोप हुने अवस्थामा पुगेको भए पनि हिमाली आयोजनाको आर्थिक सहयोगमा यो व्यवसाय फस्टाउन थालेको उहाँले बताउनुभयो ।
हिमाली परियोजनाकै अनुदानमा पचासवटा चौँरी किनेर व्यावसायिक फार्म सञ्चालन गर्नुभएका नाम्खा गाउँपालिका–६ लिमीका पाल्जोर तामाङले पनि यो पेसाबाट निक्कै सन्तुष्टि भएको बताउनुभयो । यो वर्ष साढे सात लाख रुपियाँ कमाइ भएको बताउने तामाङले अब ६५ चौँरी पुगेको र आम्दानी पनि बढ्ने उहाँले बताउनुभयो । उहाँले आफ्नो परिवारका सदस्यबाहेक अन्य तीन जनालाई रोजगारी दिनु भएको छ ।
हिमाली आयोजनाले नाम्खा र सिमकोट गाउँपालिकाका पाँचवटा चौँरी पालन उपयोजनाहरूलाई लगानी गरेकोमा सबै परियोजना सफल भएको आयोजनाका जिल्ला कृषि व्यवसाय विज्ञ कमल छन्त्यालले बताउनुभयो । आयोजनाले लगानी गरेका ७० वटा आयोजनामध्ये अन्य राम्रै भए पनि सफल व्यवसाय हुम्लामा चौँरी पनि परेको देखिएको र यसले गर्दा हुम्लामा चौँरी पालन व्यवसाय फस्टाउन थालेको र किसानले आम्दानी पनि राम्रो गर्न थालेको उहाँले बताउनुभयो । पाँचवटै चौँरी पालन व्यवसायले कम्तीमा वार्षिक दुई लाख रुपियाँभन्दा बढी कमाइ गर्दा अब व्यक्तिगत रूपमा पनि चौँरी पालनमा किसानहरू लाग्न थालेको विज्ञ छन्त्यालले बताउनुभयो ।
सामान्य घाँसपातबाट पनि चौँरी पाल्न सकिने अवस्थामा पनि दिनको दुईदेखि तीन लिटर दुध दिने चौँरी बहुउपयोगी जात भएको जिल्ला पशु सेवा कार्यालयका डाक्टर हरिबहादुर कुवंरले बताउनुभयो । चौँरीलाई आवश्यक मात्राको आहारा व्यवस्था गर्नसके यसबाट पनि उन्नत गाईभन्दा बढी १५ देखि २० लिटर दैनिक दूध दिने चौँरी को प्रजाति हुम्लामा भएको र त्यसको व्यवस्थापन नगरिएको कारण हाल दूध कम दिने गरेको उहाँले बताउनुभयो ।
जाडोमा पनि खप्ने चौँरीको गोबरबाट मल, छाला र पुच्छर पनि प्रयोग गर्न सकिने उहाँले बताउनुभयो । त्यससँगै चौँरीको छुर्पी र घिउ पनि राम्रो प्रशोधन गरेर विदेशमा महँगोमा बिक्री भइरहेकोले यसको बहुउपयोगिता रहेको उहाँले बताउनुभयो । मरेपछि मासुका रूपमा पनि स्थानीयले प्रयोग गर्ने गरेको बताउँदै उहाँले अहिले चौँरीको सुकुटी पनि विदेश निर्यात हुने गरेको उहाँले बताउनुभयो ।
हुम्ला जिल्लामा चौँरी पालन व्यवसायको सम्भावना भएका कारण हाल केही मात्रामा चौँरी पालन व्यवसाय राम्रो देखिएको भए पनि यसलाई अब स्थानीय सरकारले नीति र योजना बनाई विकास गर्नु जरुरी रहेको उहाँले बताउनुभयो ।