images
images

‘भ्यालेन्टाइन डे’ मनाउदै अनमोल केसी

काठमाडौँ, माघ २६:- प्रेमिल जोडीहरु हरेक वर्षको १४ फेब्रुअरीलाई ‘भ्यालेन्टाइन डे’ का रुपमा मनाउँछन् । यसपालि यो दिन बुधबार आउँदै छ । भ्यालेन्टाइनको साता त सुरू भइसकेको छ । फिल्ममा अभिनय गर्न थालेको छोटो अवधिमै सर्वाधिक खोजीका स्टार बनेका अनमोल केसी कस्तो युवती चाहन्छन् त ?

नेपाली फिल्मका लागि अनमोल केसी अहिलेका सर्वाधिक ‘स्टार भ्याल्यु’ बोकेका हिरो हुन् । त्यसो हुनुमा उनलाई चर्को रुचाउने फ्यान र खासगरी युवती जमात् कारक छन् । यसपटक भ्यालेन्टाइन डेभन्दा पाँच दिनअघि नै अनमोल ‘कृ’ मार्फतफ्यानसँग माया साट्न आइपुगेका छन् ।

आफूलाई सिंगल बताउने अनमोल यसपटक फ्यान र दर्शकसँग हल–हलमा गएर भ्यालेन्टाइन डे मनाउने योजनामा देखिन्छन् । ‘लामो समयदेखि दर्शकहरूसँग भेट्ने मौका पनि पाइरहेको छैन । भ्यालेन्टाइन डे मात्रै नभई शिवरात्रि पनि आफ्नै फ्यानसँग मनाउनेछु,’ उनले भने । रगतले लेखिएका चिठी वा रातभर घरअघि धर्ना दिने क्रेजी फ्यान अब अनमोलका लागि सामान्य भइसके ।

सामाजिक सञ्जालमा ‘हेटर्स–लभर्स’ राम्रै कमाएका अनमोल आफू भने बच्चैदेखि हलिउड नायिका जेसिका अल्बादेखि बलिउडकी सोनाली बेन्द्रे अनि नेपालका गौरी मल्ल र नम्रता श्रेष्ठलाई खुबै मन पराउँथे । नम्रता र अनमोल एउटै स्कुल (ज्ञानोदय) पढेका हुन् । ‘उहाँ मभन्दा ४/५ ब्याच सिनियर हुनुहुन्थ्यो । त्यसबेला नै उहाँले मलाई क्युट बच्चा जस्तो गरी जिस्काउने गर्नुहुन्थ्यो । तर मलाईचाहिँ स्कुलमा सबैभन्दा राम्री दिदी उहाँ नै लाग्थ्यो,’ अघिले पनि नम्रताका उत्तिकै फ्यान रहेका अनमोल थप्छन्, ‘उहाँको अफेयर्सको कुरा बेग्लै हो । यो ग्ल्यामर फिल्डमा पनि मलाई उहाँको व्यक्तित्वले नै आकर्षित गर्छ ।’

‘अहिले आएर त म धेरै सुध्रिएँ,’ आफ्नै कुराले हाँसो थाम्न नसकेका अनमोलले केही थामिएर फेरि भने, ‘रोमान्स फिल्ममा नै गरिरहेको छु । रियल लाइफमा खासै मौका पाएको छैन । व्यस्त पनि भइरहेको छु । आशा गरौं, आफूले सोचेजस्तो केटी छिटै पाउँ ।’ सायद फ्यानका लागि खुसीकै कुरा हुनुपर्छ । तर अनमोल भने प्रेमका मामिलामा केही अनुदार सुनिए । लभलाई चाइनिज मोबाइलसँग तुलना गर्दै उनी भन्छन्, ‘जसको कुनै ग्यारेन्टी हुँदैन । छिटै फुट्न पनि सक्छ । जे पनि हुन सक्छ ।’

तर फिल्ममा भने अनमोलको छवि लभर–ब्वाईका रूपमा रहेको छ । ‘होस्टेल’, ‘जेरी’, ‘ड्रिम्स’ वा ‘गाजलु’ सबैमा नयाँ–नयाँ को–एक्टरसँग रोमान्स गरेका अनमोल रिभेन्ज लभस्टोरी ‘कृ’ मा अदिती बुढाथोकीको क्रेजी लभरका रूपमा देखिँदैछन् । ‘लक्की भयो भनेचाहिँ लभले संसारको सबैभन्दा प्रिय अनुभव गराउँछ होला तर लक्की भएन भने बर्बाद,’ लभको अनुभव नभएको बताउने ह्यान्डस हंक अनमोल आदर्श प्रेम पाउन पनि भाग्यमा हुनुपर्ने धारणा राख्छन् । विपरीत लिंगीसँग लभ नपरेको भए पनि अनमोललाई कृष्ण भगवान्देखि ब्रुस लीसम्म औधी मन पर्दारहेछन् ।

अनमोललाई लभप्रति खासै रुचि नहुनुको कारण आफ्नै परिवारभित्र रहेछ । ‘आफ्नै घरमा पनि प्रत्यक्ष रिजल्ट देखेको छु,’ सम्बन्धविच्छेद भएका अभिभावकका एक्ला सन्तान अनमोलले यिनै कारणले आफूलाई कसैप्रति प्रेममा पर्न झन् सतर्क पारिरहेको खुलाए । ‘किन त्यही चीजमै म पनि फस्नु जस्तो लाग्छ,’ उनले भने । तर पनि अनमोल आफूलाई वान साइडेड लभ गर्ने वा क्रेजी फ्यानका लागि भने वेलकम नै भएको सुनाउँछन् । ‘गेट नै बन्दचाहिँ गरिसकेको छैन । तर अहिले नै प्रतिबद्ध भएर सम्बन्धमा बाँधिनचाहिँ तयार छैन,’ अनमोल भन्छन् ।

फेरि भ्यालेन्टाइन डेकै प्रसंग । अनमोल आजसम्म भ्यालेन्टाइन डे मनाउनै नपाएको गुनासो पनि गर्छन् । पहिले ठूलै इच्छा हुन्थ्यो रे मनाउने । तर अहिले ? ‘अब त माया गर्नेका लागि हरेक दिन भ्यालेन्टाइन डे हो । माया गर्न भ्यालेन्टाइन डे नै कुर्ने होइन,’ अनमोल केही दार्शनिक सुनिए । प्रपोज नै हान्नुपर्‍यो भनेचाहिँ उनी कसलाई हान्दा होलान् ? केहीबेर सोचे । ‘अलिक कूटनीतिक जवाफ दिउँ ?’ स्वीकृतिपछि अनमोल बोले, ‘आनी छोइङ डोल्मा ।’ किन ? ‘यत्तिकै । एउटा आध्यात्मिक शान्तिका लागि । भ्यालेन्टाइन डेमा किस नै गर्नुपर्छ भन्ने जरुरी छैन नि त । त्यो दिन उहाँसँग चट्ट ध्यान गरेर बस्न मन छ,’ अनमोल आफैं केही लजाए ।

आखिर कैयन् युवती उनको यही लजालुपना, मीठो मुस्कान र सफा व्यवहारमा मोहित हुने गरेका ‘कम्प्लिमेन्ट्री’ स्वयं अनमोलले बढी पाउने रहेछन् । ‘तर फिल्म नखेलेको भए मेरो फ्यान फलोइङ यति धेरै हुँदैनथ्यो होला । मेरो कामप्रतिको लगाव, मिहिनेतले नै मप्रति उहाँहरूको लगाव बढेको होला,’ निरन्तर हिट फिल्म दिइरहेका अनमोलले थपे, ‘नत्र त हेर्नु न, सुकेको खुट्टा छ, जीउ पनि खासै छैन । अनुहार पनि ठीकठाक मात्रै हो । खासमा फिल्ममा मेरो लभर–ब्वाई इमेज देखेरै मन पराउनुभएको हो । किनभने यथार्थमा त्यस्तो केटा हुँदैन, जस्तो फिल्ममा हुन्छ ।’

उनलाई भने कुर्तावाली युवती खुबै मन पर्छ रे । धेरैपटक भनेका पनि छन् । किन त ? ‘कुर्ता यस्तो पहिरन हो, त्यसले युवतीमा शालीन देखाउँछ,’ ग्रन्चदेखि क्लिभेज देखिने फेसन लगाउने युवतीले खासै मन नतान्ने उल्लेख गर्दै उनले भने, ‘मेरो हकमा, खुला केटीभन्दा लजालु स्वभावको नम्र केटीहरू बढी

मन पर्छ ।’