काठमाडौं, माघ २५:- केही महिना अघिसम्म ‘अलाउद्दिन खिल्जी’को नाम भारतीय इतिहासको पाठ्यपुस्तकमा सीमित थियो । तर, इस्वी सम्वतको १४औं शताब्दीमा दिल्लीको राजगद्दीमा रहेका यी सुल्तानले हाल आएर संसारभरका अर्बौं मानिसको ध्यान आफूतिर खिचेका छन् ।
अलाउद्दिनको अवसान भएको सात सय वर्षपछि फेरि उनको चर्चा हुन थालेको छ । कारण हो, बलिउड निर्देशक सञ्जयलीला भन्सालीको नयाँ चलचित्र ‘पद्मावती’, जसमा रणवीर सिंहले अलाउद्दिनको भूमिका निर्वाह गरेका छन् ।
पद्मावतीको कहानी भन्न थालिएको सयौं वर्ष बितिसकेको छ । इतिहास विद्हरुका अनुसार यो कथामा समयसँगै धेरै कुरा थपिएको छ । तर, कथा सुन्दै जाँदा कुन साँचो हो र कुन झुटो भनेर ठम्याउन निकै गाह्रो भएको छ ।
चलचित्रको कथाअनुसार दिल्लीका राजा अलाउद्दिन चित्तोरकी रानी पद्मिनीलाई आफ्नी बनाउन चाहन्छन् । सुल्तान आफैंले सेनाको नेतृत्व लिएर चित्तोरमाथि आक्रमण गर्छन् । युद्धका क्रममा अलाउद्दिनले छल गरेर राजा रतन सेनलाई मारिदिन्छन् ।
चित्तोरका सबै पुरुष मारिन्छन्, महिलाहरु आफैंलाई आगो लगाएर आत्महत्या गर्छन् ।
चलचित्रमा यस कहानीलाई ‘फिल्मी’ शैलीमा प्रस्तुत गरिए पनि इतिहासकारहरु के कुरामा सहमत छन् भने अलाउद्दिन कुनै आख्यानमा सीमित पात्र होइनन् । उनको जन्म सन् १२५० मा भएको मानिन्छ भने मृत्यु १३१६ मा भएको प्रमाण भेटिएको छ ।
नेपालको इतिहासका पाना पल्टाउने हो भने अलाउद्दिनको समयमा मल्ल राजाहरुको शासन थियो, काठमाडौं उपत्यकामा । उसो भए अलाउद्दिन र मल्ल राजाहरुबीच कस्तो सम्बन्ध थियो त ? यो प्रश्नको जवाफ त्यति सहज छैन ।
अलाउद्दिन र नेपालका शासकहरुको सम्बन्ध केलाउने प्रयास सन् १९२९ तिर भएको पाइन्छ । त्यतिबेला भारतबाट प्रकाशित हुने ‘जर्नल अफ एसियाटिक सोसाइटी अफ बंगाल’ले एउटा दुर्लभ सिक्काको तस्बिर छापेको थियो ।
त्यो सिक्काको विस्तृत अध्ययन भारतका इतिहासकार मणिकलाल गुप्ताले गरेका थिए । ‘प्रोसिडिङ्स अफ दी इन्डियन हिस्ट्री कंग्रेस’को सन् १९८० मा प्रकाशित जर्नलमा उनले यसबारे लेखेका थिए ।
गुप्ताका अनुसार त्यो सिक्कामा छापिएको नाम थियो, अलाउद्दिन खिल्जी । सिक्काको अगाडिको पाटोमा अरबी भाषामा लेखिएको थियो, ‘सिकन्दर उस सानी नसिरुल अमिरुल मउमिनिन यामिनुर खलिफत’ । यस्तै, पछाडिको पाटोमा लेखिएको थियो, ‘अल आजम असुल्तान अब्दुल मुजफ्फर मुहम्मद अलाउद दुन्या भादिन’ ।
गुप्ताले लेखमा भनेका छन्, ‘सिक्कामा एउटा शंखको चित्र छ र त्यसमा ‘श्री श्री’ पनि देवनागरीमै लेखिएको छ ।’
दुर्गाप्रसाद नामक भारतीय नागरिकको संकलनमा भेटिएको त्यो सिक्का कहिले छापियो वा कसले छपायो भन्ने जानकारी भने भेटिएको छैन । तर, गुप्ताले त्यो सिक्का पृथ्वीनारायण शाह र गीर्वाणयुद्ध विक्रम शाहका पालामा छापिएका सिक्कासँग मिल्दोजुल्दो भएकाले नेपालमा छापिएको हुनुपर्ने दाबी गरेका छन् ।
सिक्कामा भेटिएको अष्टकोण र पखेटा भएको सिंहको आकृतिले पनि गुप्ताको दाबीलाई बल प्रदान गर्छन् ।
तर, यसो भनिरहँदा गुप्ताले के कुरामा सचेत गराएका छन् भने एउटा सिक्का भेटिँदैमा अलाउद्दिनले नेपालजस्तो टाढा रहेको देशमा आफ्नो सेना पठाएर त्यहाँका राजालाई आफ्नो वर्चस्व स्वीकार्न बाध्य पारेका थिए भन्न मिल्दैन ।
‘सुल्तानको पालामा नेपाल उपत्यका र दिल्लीबीच प्रगाढ व्यापारिक सम्बन्ध रहेको नदेखिएकाले त्यो सिक्का दुई देशबीच व्यापारका लागि प्रयोग हुन्थ्यो पनि भन्न सकिन्न,’ गुप्ताले लेखेका छन् ।
पन्ध्रौं शताब्दीमा जैन विद्वान् नयचन्द्र सुरीले रचेका ‘हामिर’ महाकाव्यमा अलाउद्दिनका बारेमा थुप्रै कथा भेटिन्छन् । त्यसको अध्ययन गरेका विद्वानहरुका अनुसार महाकाव्यमा अलाउद्दिनले नेपालका राजासँग पनि कर उठाउने गरेको उल्लेख छ ।
इतिहासकार महेशराज पन्त र दिनेशराज पन्तले मुकुन्द सेनको काठमाडौं आक्रमणबारे लेखेका आलेखमा नेपालले चौधौं शताब्दीको शुरुतिर केही समयका लागि दिल्लीका सुल्तान अलाउद्दिन खिल्जीको वर्चस्व स्वीकारेको हुन सक्ने उल्लेख भेटिन्छ ।
उनीहरुका अनुसार काठमाडौं उपत्यकामा तिरहुतबाट बारम्बार हुने गरेको आक्रमणलाई निस्तेज पार्न पनि नेपालले अलाउद्दिनको वर्चस्व स्वीकारेको हुन सक्छ ।
अर्का इतिहासकार डिल्लीरमण रेग्मीले आफ्नो किताब ‘एन्सिएन्ट एन्ड मिडिएभल नेपाल’मा दुवै धारणाप्रति असहमति जनाएका छन् । नेपाललाई तिरहुत (मिथिला) को आक्रमणबाट जोगिन अलाउद्दिनको सहयोग खासै महत्वपूर्ण थिएन किनभने तिरहुतमा उनको हैकम चल्दैनथ्यो ।
उनका अनुसार गुप्ताले अध्ययन गरेका सिक्कामा लेखिएको ‘श्री श्री’ले पाल्पाका राजातर्फ इंगित गरेको हुन सक्छ । पाल्पा र अवध राज्य नजिकै भएको र अवधमा अलाउद्दिनले केही समय शासन गरेकाले उनको नाममा सिक्का छापिएको हुन सक्ने उनको ठम्याइ छ ।