बुद्ध लामाको निर्णायक गोलमा नेपाल पुलिस क्लब लगातार दोस्रो साता नकआउट फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । अर्को ए डिभिजन क्लब सिएमजी क्लब संकटालाई बुधबार २–१ ले हराउँदै पुलिस २० औं बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
थप समयका बुद्ध लामाले गरेको निर्णायक गोलमा टोली अन्तिम दुईमा पुगेको हो । निर्धारित समय १–१ को बराबरीमा टुंगिएको थियो । बुद्धले १५ मिनेट थपिएको समयको ११ औं मिनेटमा गोल गर्दै पुलिसलाई फाइनल पुर्याएका थिए । तर शनिबारमात्र टोलीले रुस्लान थ्री स्टार क्लबलाई १–० ले हराउँदै १६ औं आहा रारा गोल्ड कपको उपाधि जितेको थियो ।
त्यसअघि टोलीले माघको सुरुआतमा राखेप च्याम्पियनसिप अन्तर्गतको फुटबलमा स्वर्ण पदक जितेको थियो । खेलमा पुलिसले अग्रता लिएको थियो । ५४ औं मिनेटमा रजिन सुब्बाले गोल गरे । तर ६४ औं मिनेटमा प्रकाश बुढाथोकीले बराबरी गोल गरेपछि खेल थप समयमा धकेलिएको थियो ।
शनिबार हुने फाइनलमा पुलिसले थ्री स्टार वा भारत कोलकाताको दुर्गापुर स्टिल एफसीको सामना गर्नेछ । ६ लाख रुपैयाँ विजेता प्राप्त गर्ने प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमिफाइनल बिहीबार थ्री स्टार र दुर्गापुरबीच हुनेछ ।
hamrokhelkud