झापा माघ १९, भारतले नेपालको अदुवा निकासीमा लगाइएको अवरोध खुला गरेका छन् । वाणिज्य मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले भारतले अदुवा निकासीलाई तत्कालका लागि खुला गरेको जानकारी दिएको छ ।
एक महिनादेखि अदुवा निकासीमा लगाएको प्रतिबन्ध हटेको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आएपछि उक्त प्रतिबन्ध हटेको हो ।
अदुवा निकासी खुलाउनेबारे बुधबार नेपाल र भारतीय पक्षबीच छलफल भएको थियो । त्यसलगत्तै अदुवा निकासी खुल्ला भएको इलाम नगरपालिकाका अदुवा व्यापारी कृष्ण पौडेलले जानकारी दिनुभयो ।
अदुवा निकासी ठप्प हुँदा किसान र व्यापारी दुवै चिन्तित भएका थिए । निकासी खुलाउन दुवैले सरकारसँग माग गर्दै आएका थिए । निकासी खुल्ला भएपछि एक महिनादेखि लोड भएर बसेका दर्जनौँ ट्रक काँकडभिट्टातर्फ लागेको व्यापारी पौडेलले जानकारी दिनुभयो ।
त्यसलगत्तै बिहीवार भारतीय पक्षबाट तत्कालका लागि समस्या समाधान भएको जानकारी गराएको मन्त्रालयले जनाएको छ । यससँगै शुक्रबार देखि नै अदुवा निकासी सहज हुने मन्त्रालयले बताएको छ ।