दाङ तुल्सीपुर माघ ४, सरकारले ५ नम्बर प्रदेशको राजधानी आफ्नोमा नतोकेको भन्दै दाङवासी आक्रोशित भएका छन् । उनीहरुले दाङका जनप्रतिनिधिलाई बन्धक बनाउने चेतावनीसमेत दिएका छन् । आन्दोलनकारीहरुले आजदेखि अनिश्चितकालिन आम हड्ताल गर्दै सरकारी कार्यालयमा काम गर्न नदिने उद्घोष गरेका छन् । प्रदेशको अस्थायी मुकाम रुपन्देहीलाई तोकेकामा उनीहरु अवज्ञामा उत्रेका हुन् ।
माघ ३ गतेलाई कालो दिनका रुपमा मनाउने पनि उनीहरुको भनाइ छ । अस्पताल र एम्बुलेन्सबाहेक सबै क्षेत्र बन्द गराइने घोषणा उनीहरुले गरेका हुन् । घोराहीमा बसेको दाङ राजधानी सरोकार समितिको बैठकले आन्दोलनका नयाँ कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
दाङको घोराही, तुलसीपुर, लमही क्षेत्रमा प्रदर्शन जारी नै छ । बन्दले जनजीवन पुरै ठप्प बनेको छ । यातायात, बजार, कालकारखाना, शैक्षिक संस्था केही पनि चल्न दिइएको छैन ।
यसैगरी धनकुटा र डोटीमा पनि सरकारको निर्णयविरुद्ध प्रदर्शन कायमै छ । आफ्नो ठाउँलाई राजधानी नतोकेको भन्दै उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन नै गरेका छन् ।