काठमाडौँ, माघ ३:- बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठक ३ बजेसम्मका लागि स्थगित गरिएको छ । आज बसेको मन्त्रिपरिषद बैठकमा प्रदेश प्रमुख र अस्थायी मुकामबारे छलफल भएको थियो ।
प्रदेश प्रमुखमा प्रस्तावित नामहरुमा प्रदेश १ मा गोविन्द सुब्बा, २ मा उमाकान्त झा, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा रत्नेश्वरलाल कायश्त, ६ मा दुर्गाकेशर खनाल, ७ मा मोहनराज मल्लको रहेको छ ।
यसको निर्णय आजै दिउँसो ३ बजेपछि बस्ने मन्त्रिपरिषाद बैठकले निर्णय गर्ने सम्भावना रहेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बताए । उनले भने, अहिले बैठक स्थगित गरिएको छ, ३ बजे बस्ने बैठकले छलफलमा आएको नामलाई नै पास गर्ने सम्भावना छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार दिउँसो मन्त्रिपरिषद बैठक बोलाएपनि प्रदेश प्रमुख र अस्थायी मुकामका बारे थप छलफल गर्नुपर्नेभन्दै उनले बैठक आजलाई सारेका थिए।
प्रदेश प्रमुखको नियुक्ति नहुँदा निर्वाचन आयोगले मत परिणाम घोषणा गर्न सकेको छैन। यस्तै प्रदेश सांसदहरुले सपथ नलिई राष्ट्रियसभाको निर्वाचन गर्न पनि संवैधानिक रुपमा अड्चन रहेको छ।
राष्ट्रिय सभा निर्वाचनको मतदातासमेत रहेका प्रदेशसभा सदस्यको नतिजा सार्वजनिक नहुँदा आयोगलाई चुनावी प्रक्रिया अघि बढाउन समस्या परेको छ। सरकारले माघ २४ गते राष्ट्रिय सभा निर्वाचन मिति तोकिसकेको छ। प्रदेश प्रमुख नियुक्तिमा भइरहेको ढिलाइले राष्ट्रिय सभा निर्वाचन त प्रभावित हुनेछ नै, प्रदेश सरकार गठनमा समेत ढिलाइ हुनेछ।