लेभरकुसेन (एजेन्सी), पुस ३०:- जर्मन बुन्डेसलिगमा बायर्न म्युनिखले बायर लेभरकुसेनको १२ खेलको अपराजित यात्रामा पूर्णविराम लगाइदिएको छ । लेभरकुसेनको घरेलु मैदानमा ३–१ को जित हासिल गर्दै शीर्ष स्थानको म्युनिखले १४ अंकको अग्रता बनाएको छ ।
गए राती पहिलो हाफमा जाभियर मार्टिनेजले गोल गर्दै बायर्नलाई अग्रता दिलाए भने दोस्रो हाफमा फ्रान्क रिबेरीले अग्रता दोब्बर गरेका थिए । तर केभिन भोल्याण्डले ७०औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने कोशिस गरेका थिए ।
खेलको अन्त्यतिर भ्रमणकारी म्युनिखले घरेलु टोलीबाट दबाब खेप्नु परेको थियो । तर रियल म्याड्रिडबाट लोनमा रहेका हामेज रोड्रिग्वेजले इन्जुरी समयको पहिलो मिनेटमा फ्री किक मार्फत गोल गरेपछि बायर्नको जित निश्चित भएको थियो । बायर्नले जितसँगै १८ खेलमा ४४ अंक बनाएको छ भने दोस्रो स्थानमा रहेको साल्केको १७ खेलमा ३० अंक छ ।